पोखरा, २८ भदौ– नेपाली कांग्रेस कास्कीका नेता भोजबहादुर गुरुङ‘ सिकन्दर’को आइतबार निधन भएको छ । पछिल्लो निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाको उम्मेदवारसमेत रहेका युवा नेता गुरुङको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा निधन भएको हो । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका सिकन्दर त्याग र क्रान्तिको पर्याय मानिन्थे । राजनीतिबाट कहिल्यै लाभ नलिएका उनलाई पछिल्लो चुनावमा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले सोच्दै नसोचेको बेला टिकट दिएका थिए । ‘म टिकट माग्न गएकै हैन,टिकट त मलाई पो दियो त, उनले टिकट पाएपछि भनेका थिए,‘,‘म अर्कालाई पो टिकट माग्न गएको थियो त १’
कांग्रेसको राजनीतिमा वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, शैलजा आचार्य, शेरबहादुर देउवासँग संगत गरेका नेता हुन्, भोजबहादुर । वीपीको शवयात्रा व्यवस्थापनमा स्वयंसेवक बनेर शवयात्रा चलाएका उनले त्यो राजनीतिक पहुँचलाई कहिल्यै व्यक्तिगत स्वार्थमा प्रयोग गरेनन् । बहुचर्चित स्याङ्जा गोलीकाण्डमा वीपीलाई बचाउने जिम्मेवारी पनि उनले लिएका थिए ।
नेपाली कांग्रेसका वर्तमान सभापति सेरबहादुर देउवा तथा शैलजा आचार्यसँग महिनौं एउटै कोठामा बसेर एउटै भान्छामा खाना खाएर पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय भएका यी त्यागी नेताले नमागेरै टिकट पाए पनि जीत भने हाँसिल गरेनन् । चुनावमा उनले चन्दा पनि लिएनन् ।
‘म भाषण गर्ने मान्छे हैन, जनताको हलो जोत्ने हो’, कास्कीको भदौरेमा जन्मेका भोजबहादुरले पार्टी सभापति शेरबहादुर देउवा उपस्थित चुनावीसभामा भनका थिए, ‘म गरिबको छोरो हो, चन्दा लिएर भोजभतेर गर्नुछैन ।’ एक शुभेच्छुक व्यापारीले सहयोगको लागि पठाएको एकलाख फिर्ता गरेको प्रसङ्ग झिक्दै उनले त्यो बेला भनेक थिए,‘ आर्थिक सहयोग दिन चाहनेहरुलाई मैले धन्यवाद भन्दै पठाएको छु ।’कुनै समय कास्की काँग्रेसको कहलिएको योद्धा थिए, भोजबहादुर । नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन सुरु गरेका उनी पञ्चायतीकालखण्डमा नै मण्डलेको आक्रमणमा परे । धन्न ज्यान जोगियो, हात जख्मी भयो तर उनले आस्था छाडेनन् । आफ्नो कुरा भन्न नडराउने र नेताहरुको चाकडी पनि नगर्ने भोजबहादुरको सोमबार बौद्ध अघौं सदनमा दाहसंस्कार गर्ने कार्यक्रम तय भएको छ ।




