पोखरा, ३० भदौ– कोभिड–१९ ले गण्डकीकी अर्की एक महिलाको ज्यान लिएको पुष्टि भएको छ । नवलपरासीको गैंडाकोट नगरपालिका–९ की ६० वर्षीया महिलाको भरतपुर मेडिकल कजेलमा भएको मृत्युको कारक कोरोना प्रमाणित भएपछि गण्डकीमा संक्रमणबाट मृत्यु हुनेको संख्या पनि २९ पुगेको छ । उनको भदौ २८ गते नै निधन भएको र गण्डकीले ढिलो गरि मृत्युको जानकारी बाहिर ल्याएको हो । यसअघि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार बिहान दिएको जानकारी अनुसार ती पुरुषको भदौ २६ गते नै नवलपरासी जिल्लाको मध्यविन्दु–१२,का ६० वर्षीय पुरुषको उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको थियो । निमोनिया र स्वासप्रश्वाससम्बन्धि समस्या पनि भएकोले उनको सो अस्पतालमा उपचार भइरहेको थियो ।
कोभिड–१९ को संक्रमण बढिरहँदा पोखरामा सबैभन्दा बढी संक्रमण देखिएको छ । पोखरामा सोमबार ५४ जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमध्येमा गण्डकी मेडिकल कलेजका स्टाफ नर्स पनि रहेकी छन् । त्यहाँ उपचाररत स्याङ्जा पुतलीबजारकी ८० वर्षीया वृद्धामा संक्रमण देखिँदा नर्समा पनि संक्रमण पुष्टि भएको हो । भारतबाट आएका वडा नम्बर २५ का १८ वर्षीय पुरुष र ८ वर्षीय बालिकामा पनि संक्रमण पुष्टि भएको छ । सोमबार दिउसो संक्रमण पुष्टि भएका ३४ जनामध्ये रुपा गाउँपालिकाका ४ जना रहेका छन् । अन्य संक्रमितहरु पोखराका ११ वडाका रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसअघि सोमबार बिहान पनि पोखरा महानगरपालिकाका २० जनामा संक्रमण पुष्टि भएको थियो । भने कास्कीमा १७ जनामा संक्रमण देखिएको थियो । पोखरा महानगरपालिकाको वडा नम्बर ४ र १७ मा बस्ने ७ नेपाल प्रहरीमा कार्यरत ७ जना पनि संक्रमित भएका थिए । जिल्ला प्रहरी कार्यालयसमेत रहेको वडा नम्बर ४ का ५ जना प्रहरीमा पनि संक्रमण देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको थियो । पोखरा–२३ मा १ जना, १४ मा ३ जना महिलासहित ६ जना र वडा नम्बर ७ र ८ मा १÷१ जनामा संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जारी गरेको सूचनामा जनाइएको थियो । पोखरा–८ की २१ वर्षीया युवती स्वास्थ्यकर्मी हुन् । उनी पोखरा महानगपालिकाअन्तर्गतको स्वास्थ्य सेवा विभागमा कार्यरत छन् ।
नवलपरासीमा ६ जना र तनहुँमा १८ जना,स्याङ्जामा १ जना,बागलुङमा २ जना, लमजुङमा ३ जना, गोरखामा ३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितसँगको सम्पर्कका कारण उनीहरुमा कोरोना सरेको हो । बागलुङ बडिगाडका २ जना विदेशबाट आएर क्वारेण्टिनमा बसेकाहरु रहेका छन् । अन्य संक्रमितहरु केही विदेशबाट आएका र बाँकी कन्ट्याक्ट टे«सिङमा परेका हुन् । गण्डकीमा हालसम्म ३०६४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने तीमध्ये ११४० जना अझै निको भएका छैनन् । पछिल्लो २४ घण्टामा १०८८ जनाको पीसीआर परीक्षण गरिँदा ९३ जनामा संक्रमण देखिएको हो । हालसम्म गण्डकीमा ५८ हजार ३४१ जनाको पीसीआर परीक्षण गरिएको छ । संक्रमणको केन्द्र बनेको पोखराको मात्रै पछिल्लो २४ घण्टामा ४२३ जनाको स्वाब परीक्षण गरिएको हो । हाल कास्कीमा सबैभन्दा बढी ४०३ जना सक्रिय संक्रमित रहेका छन् । नवलपरासीमा २७६,लमजुङमा १६५, तनहुँमा १०८, स्याङ्जामा ५१,पर्वतमा ९,बागलुङमा ४४,म्याग्दीमा १,मनाङमा २ जना संक्रमित रहेका छन् ।





