पोखरा, ३ असोज – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधानले सबै तह र तप्काका जनताको अधिकार प्रत्याभूत गरेको बताएका छन् । ५ औं संविधान दिवसको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले नेपाली जनताको लामो संघर्ष, वलिदान र प्रतीक्षापछि पहिलोपटक जनताका प्रतिनिधिमार्फत् संविधान निर्माण भई २०७२ साल असोज ३ गते घोषणा भएकोे दिन भएकोले नेपालको राजनैतिक एवं संवैधानिक इतिहासमा यूगिन महत्वको दिनका रुपमा स्वर्णीम अक्षरले लेखिएको उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमा उनले भनेका छन्, ‘संविधानमा जनताका मौलिक अधिकारहरु संस्थागत हुनु, सामाजिक न्याय सहितको समावेशी र सहभागितात्मक लोकतन्त्रको प्रत्याभूति गरिनु, संघीय लोकतान्त्रिक शासन पद्दतिको व्यवस्था गरिनु र समाजबाद उन्मुख राज्यव्यवस्थाको प्रत्याभूति गर्नु नेपाली क्रान्तिको मौलिक र महत्वपूर्ण उपलव्धी हो ।’ उनले संविधानको रक्षा, प्रयोग र विकास गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप संस्थागत र सुदृढ पार्नु तथा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नु अहिलेको आवश्यकता, प्रमुख कार्यभार र साझा दायित्व भएको पनि जनाएका छन् ।




