सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बाख्राको खुरमा रुपैयाँ फल्छ, मेहनत गरेमा !

बाख्राको खुरमा रुपैयाँ फल्छ, मेहनत गरेमा !

पाँच महिना पालेका बोयर क्रस बोका र बाख्रालाई बीस हजार रुपैयाँभन्दा बढी मूल्य पार्न सकिने थापाले बताए ।


  • ध्रुवसागर शर्मा
  • असोज ४ २०७७, आइतबार

म्याग्दी, ४ असोज– वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका वडा नं १ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो । वार्षिक एक लाखसम्म कमाइ भएपनि थापाको मन परदेशको गर्मीमा रमाउन भने सकेको थिएन ।
उनले सोचे, यत्तिको दुःख आफ्नै देशको माटोमा गर्ने हो भने कसो उँभो नलागिएला र ? त्यसपछि उनी आफ्नै देशमा फर्किए । गाउँ फर्किएपछि के गर्ने भन्नेबारे उनलाई हुटहुटी लाग्न थाल्यो । उनीसंग आफ्नै माटोका लागि उपयोगी हुने सीप र प्राविधिक ज्ञान थिएन ।
खाने मुखलाई जुंगाले त के छेक्थ्यो र ? प्राविधिक सीप सिक्नका लागि लागे मुस्ताङको लेतेस्थित धौलागिरि प्राविधिक शिक्षालयतर्फ । शिक्षालयमा १८ महिना पशु स्वास्थ्य प्राविधिक विषयमा अध्ययन गरेपछि थापाले गाउँमा थालेको व्यवसायिक बाख्रापालनले अहिले उनलाई फलिफाप भएको छ ।
थापाले निशान बोयर बाख्रा फार्म दर्ता गरेर उन्नत बोयर जातको बाख्रापालन शुरु गरेपछि अहिले उनको जीवनमा इराकको मरुभूमिलाई बिर्साइदिने गरी हरियाली छाएको छ ।
चार वर्षअघि हुलाकेमा बोयर बाख्रा पाल्न सुरु गरेका थापा अहिले बोयर बाख्रा र बोकाको माग बढेपछि उत्साहित बनेका छन् । तनहुँ र धार्केबाट ल्याएका बोयर जातका पाँच माउ र एक बोकाबाट थापाले स्थानीय खरि जातका बाख्रालाई क्रस बनाएर पालेका छन् ।
छिटो बढ्ने र धेरै तौल हुने बोयर बाख्रापालनप्रति कृषकको आकर्षणसँगै बोका र पाठापाठीको माग बढेको थापाको भनाई छ । शान्त स्वभावका हुने भएकाले बोयर बाख्रा पाल्न सजिलो मानिन्छ । करिब दश लाख रुपैयाँ लगानीमा स्थापना भएको फार्ममा हाल ३५ वटा बाख्रा र बोका छन् ।
फार्ममा माउ बाख्राको संख्या बढाएर ५० वटा पु¥याउने थापाको योजना छ । पाँच महिना पालेका बोयर क्रस बोका र बाख्रालाई बीस हजार रुपैयाँभन्दा बढी मूल्य पार्न सकिने थापाले बताए । गतवर्ष करिब बीस बोका र बाख्रा बिक्री गरेर करिब १० लाख आम्दानी गरेको उनको भनाई छ । थापाका अनुसार, सामाजिक सञ्जाल र मोवाइल सम्पर्क मार्फत बाख्रा र बोकाको माग आउने गरेको छ । बाख्रा पालनका लागि थापाले आधुनिक किसिमको खोर बनाएका छन् । थापाले दाजुको २० रोपनी जग्गामा बहुबर्षे तथा डालेघाँस खेति पनि गरेका छन् ।
फार्मलाई खसीबाख्रा र बोका संकलन केन्द्रको रुपमा विकास गराउन भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चार लाख रुपैयाँ अनुदान दिएको उनको भनाई छ । कृषकहरुले उत्पादन गरेका खसी, बोका संकलन गरेर फार्ममा ल्याउने र माग अनुसार बजार तथा कृषकहरुकहाँ पु¥याउने तयारी गरेको थापाले बताए । थापाले खसी बोका बिक्री गरेर वार्षिक १० देखि १५ लाख रुपैयाँसम्म कमाउन थापा सफल भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->