
बागलुङ, ६ असोज– बाढीपहिरो प्रभावित जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा अवरुद्ध सञ्चार सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले आफ्ना रिपिटर टावरहरुमा वैकल्पिक उर्जाको व्यवस्था गरेपछि सञ्चार सेवा सुचारु भएको हो ।
गत भदौ १७ गते बोबाङमा आएको बाढीपहिरोले स्थानीय लघुजलविद्युत आयोजनाहरुमा क्षति पु¥याएपछि ढोरपाटन क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको थियो । सौर्य उर्जाको व्यवस्था गरेर सो क्षेत्रमा रहेका रिपिटर टावरहरु सञ्चालनमा ल्याईएको नेपाल टेलिकम शाखा कार्यालय बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए ।
सञ्चार सेवा अवरुद्ध हुँदा बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणले आफ्ना दुख सुनाउन र आफन्तको सहानुभुती लिनसमेत नपाएको गुनासो गरेका थिए । ढोरपाटन नगरपालिका वडा नं ८ बोवाङ बिजौरेमा रहेको रिपिटर टावरमा १ सय ३५ वाटको २४ थान सोलार जडान गरेर अवरुद्ध सञ्चार सेवा सञ्चालन गरिएको वरिष्ठ इन्जिनियर शर्माले बताए । सेवा सुचारु गर्न नेपाल टेलिकमले पोखराबाट प्राविधिक समुहसहित सोलार सेट पठाएको थियो । बाढीपहिरोको वितण्डापछि तत्काल सोलार पु¥याउन सडकका कारण समस्या थियो ।
सालझण्डी–ढोरपाटन सडक ढोरपाटन नगरपालिकाको पहलमा मर्मत भएपछि सौर्य उर्जा टावर रहेको स्थानमा पु¥याईएको हो । सडकदेखि रिपिटर टावरसम्म सोलार तथा मर्मत सामग्री पु¥याउन स्थानीयले सहयोग गरेका थिएभने प्रहरी र जनप्रतिनिधिको समुह समेत त्यहाँ पुगेको थियो । कोरोना कहर र प्रतिकूल मौसमका बावजुद जनताको सञ्चार सुविधालाई मध्यनजर गर्दै टावर सञ्चालनमा ल्याइएको नेपाल टेलिकम पोखराका इन्जिनियर कुमोद कुमार महतोले बताए ।
बोबाङको विजौरेको टावर अवरुद्ध हुँदा त्यस आसपास र ढोरपाटन नेपानेमा रहेको टावरमा रेडियो लिंक बन्द रहेको थियो । लिंक बन्द हुँदा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा मोबाइल सेवा अवरुद्ध रहेको नेपाल टेलिकम पोखराका इन्जिनियर शिवप्रसाद पौडेलले जानकारी दिए ।
नेपाल टेलिकमको नमस्ते मोबाइल सेवा अवरुद्ध हुँदा ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ का बासिन्दा सञ्चार सेवाबाट बञ्चित थिए । सोमबारदेखि मोबाइल सेवा सञ्चालनमा आएसँगै स्थानीयहरू खुसी भएको ढोरपाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष हरिबहादुर घर्तीले बताए ।





