
काठमाण्डौ, ७ असोज– कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । स्वर्गीय शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । हिम चितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार जोरपाटीस्थित निजी निवासमा निधन भएको थियो । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले स्व शेर्पालाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । त्यही अनुरुप सरकारका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शेर्पा गुम्बा बौद्धमा राखिएको शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । स्व शेर्पाले बिनाअक्सिजन १० पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । उनका तीन छोरा र एक छोरी छन् ।





