बागलुङ, २० असोज– नेपाल सरकारले देशभरका बिद्यालयमा संभव हुने सम्मको पढाइ संचालन गर्न भनेको छ । शिक्षा मन्त्रालयले सिकाई सहजीकरण निर्देशिका २०७७ जारी गरेर पढाउन लगाएको हो । निर्देशिकाले टोलटोलमा पढाइ संचालन गर्न भनेको छ । गत चैतदेखि घर फर्केका बालबालिका बिद्यालयको सेवा क्षेत्रमा ल्याउन चुनौती भएको हो । ग्रामीण क्षेत्रका केही बिद्यालयमा संभव भएपनि नगरक्षेत्रमा असंभव भएको प्रअहरुले प्रतिक्रिया दिन थालेका छन् ।
उनीहरुले टोलटोलमा सिकाइ सहजीकरण गर्दा ४० प्रतिशत बिद्यार्थीपनि उपस्थित गर्न नसक्ने टिप्पणी गरे । ‘मेरो बिद्यालयमा १ हजार ४ सय बिद्यार्थीको संख्या छ, तर टोलमा पढाउँदा ४ सय जनालाईपनि संभव छैन’ बागलुङ नगरपालिका वडा नं. ३ स्थित बिद्यामन्दिर माबिका प्रअ शान्तमणी ढकालले भने, ‘यो विधिबाट अभिभावकको गाली खाने काम मात्रै भयो ।’ जिल्लाका गाउँगाउँबाट पनि बिद्यालयमा पढ्ने बिद्यार्थी आउँथे । उनीहरु नजिकको टोलमा छैनन् । मन्त्रालयले असोज १ बाट लागू हुनेगरी निर्देशिका जारी गरेको हो ।
कक्षा ८ देखि १२ सम्मका बिद्यार्थीलाई जुम एप्सबाट पढाउन खोज्दापनि संभव नभएको उनले टिप्पणी गरे । ‘मैले जुम एप्सबाट पनि पढाई थालेको छु, तर सबैको पहुँचमा इन्टरनेट छैन’ उनले भने, ‘छुटेका बालबालिका र अभिभावकले फोन गरेर गाली गरेका छन्’ मजदुरका बालबालिका अधिकांस अर्कै जिल्ला छन् । उनीहरु यहाँ समेटिने संभावन नभएको उनले बताए । बागलुङ नगरपालिका भित्रका ८८ बिद्यालय मध्ये दुइ दर्जन बिद्यालयमा मात्रै सिकाई सहजीकरण संभव भएको शिक्षकहरु बताउँछन् । ‘निर्देशिका आयो, हामीले पत्राचार पनि गरेका छौं, तर सहज छैन’ नगर शिक्षा अधिकारी डण्डपाणी शर्माले भने, ‘नगर क्षेत्रका बिद्यार्थी न टोलमा भेटिन्छन्, न सबै इन्टरनेटको पहुँचमा छन् ।’ निर्देशिकाले भने आगामी मंसिरमा अर्धबार्षिक परीक्षा लिने समेत उल्लेख छ ।
ढोरपाटन नगरपालिकामा यो समस्या अभैm बढी छ । बजार रहेको बुर्तिवाङमा पढ्ने अधिकांस गाउँका बालबालिका थिए । बजार भित्रै आधा बिद्यार्थी पनि छैनन् । लकडाउनपछि घर गएका बालबालिका बजारमा ल्याउन संभव नहुने नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । ‘गाउँपनि धेरै टाढा छ, दरबन्दीका दुइचार जना शिक्षकले कसरी पढाउँछन् ?’ उनले भने, ‘बालबालिकालाई पाठ्य पुस्तक पु¥याइदिने र पढ्न लगाउने काम मात्रै संभव छ, दैनिक कक्षा संभवै छैन ।’ यो नगरपालिकाको वडा नं. ५, ६, ७, ८ र ९ का अधिकांस बालबालिका ढोरपाटन र बुकी क्षेत्रमा पशुचरन तथा कृषि कामका लागि गएका छन् । उनीहरु सम्पर्कमा समेत छैनन् । जाडो लागेपछि बेसी झर्ने र गर्मीमा लेकमा जाने गर्छन् । ‘नियमित कक्षा चलेको बेला समेत बालबालिका जाडोमा मात्रै जम्मा हुन्थे, अलिले कता छन् पत्तो छैन’ ढोरपाटन नगरपालिका ८ स्थित ज्ञानोदय माबि बोबाङका प्रअ यामबहादुर कायतले भने, ‘टोलटोलमा अहिले २० देखि २५ प्रतिशत बालबालिका मात्रै भेटिन्छन् ।’ गत बैसाखमै यो निर्देशिका आएको भए बरु बालबालिकाले पढ्ने अबसर पाउने उनले बताए ।
जिल्लाका एक दर्जन बिद्यालयले भने गत असारदेखिनै टोल शिक्षा दिएका थिए । सेवा क्षेत्रमा सबै बिद्यार्थी भेटिने केही बिद्यालयले टोल शिक्षा चलाएका हुन् । गलकोट नगरपालिका ८ कांडेबासको शिव माबि, बडिगाड गाउँपालिका २ को त्रिभूवन माबि, काठेखोला गाउँपालिका ४ को धारा माबि लगायतले नियमित टोल शिक्षा चलाएका थिए । बागलुङ नगरपालिका ११ को महाबिद्याजन माबि र बरेङ गाउँपालिकाका अधिकांस बिद्यालयले दुरी कायम गर्ने तथा पालो मिलाएर बिद्यालयकै कोठामा पनि पढाइ चलाएका थिए । निर्देशिकाले पढाई चलाएकालाई समेत रोकेको टिप्पणी भएको छ । ‘हामीले बिद्यालयमै पालो गर्ने, एउटा बेन्चमा एउटा बिद्यार्थी बसेर पढ्ने व्यवस्था मिलाएका थियौं’ बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भने, ‘निर्देशिकाले भैरहेको पढाईपनि बिथोलेको छ ।’
जैमिनी नगरपालिकाले भने सबै प्राथमिक बिद्यालयका भवन, सामुदायिक भवन र खाली भएका गाउँका घर प्रयोग गरेर पढाइ थालेको छ । ‘निर्देशिका अनुसार ग्रामीण बस्तीका बालबालिका पढाउन सक्छौं’ नगरशिक्षा अधिकारी खेमप्रसाद आचार्यले भने, ‘टोलटोलमा समूह बनाएर कक्षा शिक्षक र बिषय शिक्षकको रुटिन पनि लागू गरिसकिएको छ ।’ बजार क्षेत्रका बिद्यालयमा भने सबै बालबालिका जुटाउन नसकिएको उनले पनि बताए ।




