फाईल फोटो
नवलपुर, २० असोज– चितवन राष्ट्रिय निकुञ्जका २ वटा गैंडा मृत फेला परेका छन् । आज एकैदिन दुई वटा गैडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।
निकुञ्जको एउटा गैंडा नेपाल भारत सीमा गण्डक ब्यारेजदेखी तल भारततर्फ र अर्को गैंडा सौराहाको बनकट्टामा मृत भेटिएका हुन् । निकुञ्जका सुचना अधिकारी अशोक रामका अनुसार भारततर्फ भेटिएको गैंडा नारायणी नदीमा बगेर मरेको हो भने सौराहामा भेटिएको गैंडा एक–आपसमा जुधेर घाईते भै मरेको हुनसक्ने जनाईएको छ ।
भारतको वाल्मिकी टाईगर रिजर्भ क्षेत्रमा भेटिएको मृत गैंडा नियमअनुसार भारतमै पोष्टमार्टम गरी ब्यवस्थापन हुने सूचना अधिकारी रामले जानकारी दिए ।
सौराहामा भेटिएको गैंडाकोे एउटा खुट्टा भाँचिएको र खाग–खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । साउन यता निकुञ्जका ७ वटा गैंडा मरेका छन् । साउनमा एक, भदौमा २, असोजमा ४ वटा गैंडा मरेका छन् । असोजमा पाँच दिनको अवधिमा ४ वटा गैंडा मृत फेला परेका छन् । गत शुक्रवार नवलपुरको लामीचौर निकुञ्ज क्षेत्रमा र शनिवार त्रिबेणी क्षेत्रमा गरी २ वटा गैंडा मृतावस्थामा फेला परेका हुन् ।





