बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पश्चिम सेक्टर नवलपुरमा किन मर्दैछन् गैंडा ?

पश्चिम सेक्टर नवलपुरमा किन मर्दैछन् गैंडा ?


  • खगेन्द्र पराजुली
  • असोज २८ २०७७, बुधबार

नवलपुर, २८ असोज– चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्र नवलपुरतर्फ भटाभट मृत गैंडा भेटिएका छन् । चालु वर्षको साउनयता ९ वटा गैंडा मरेकामा असोजमा मात्रै निकुञ्जका ६ वटा गैंडा मृत भेटिएका छन् । तीमध्ये चितवनको सौराहा, त्रिबेणीदेखी तल भारततर्फ एक÷एक र ४ वटा गैंडा पश्चिम सेक्टर नवलपुरमै भेटिएका छन् । असोजको १६ गतेयता निकुञ्जका ६ वटा गैंडा मरेका छन् ।
सोमबार नवलपुरको बिनयी त्रिबेणी गाउँपालिकाअन्तर्गत निकुञ्जको पश्चिम सेक्टर भेलौजी कठौनामा मृतावस्थामा गैंडा रहेको सूचनाका आधारमा मंगलबार पशु विशेषज्ञसहितको टोली घटनास्थलतर्फ गएको पश्चिम सेक्टर अमलटारीका प्रमुख पशुपति अधिकारीले जानकारी दिए । अन्दाजी ३०–३५ वर्षको भाले गैंडा एक महिनाअघि नै मरेको हुनसक्ने अधिकारीले बताए । खाग र खुर सुरक्षित अवस्थामा रहेको सो गैंडा अर्को गैंडासँग जुधेर घाइते भई मरेको हुनसक्ने निकुञ्जको अनुमान छ ।
पछिल्लो समय निकुञ्जका गैंडा मर्ने क्रममा वृद्धि भएसँगै अनुसन्धान शुरु भएको छ । सेक्टर प्रमुख अधिकारीका अनुसार, प्राकृतिक रुपमा गैंडाको मृत्युदर वृद्धि हुनुमा चरन क्षेत्र साँघुरिनु, निकुञ्ज क्षेत्र झाँडीले बाक्लिनु, आहाराका लागि नयाँ घाँसहरु नहुनुलगायतका कारण देखिएका छन् ।
पहिले–पहिले झण्डै २ हजार ६ सय वर्ग मिटरसम्म फराकिलो चरन क्षेत्र भएको वनक्षेत्र सामुदायिक वनहरुले तार–पर्खालले घेरेपछि साँघुरिदै गएको छ । त्यस्तै मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरुले समेत तार र पर्खालले वनक्षेत्र घेर्न थालेपछि ४–५ सय वर्गमिटरमा मात्रै गैंडाको बासस्थान साँघुरिएको उनको तर्क छ ।
धेरै वर्षअघिदेखि चितवन राष्ट्रिय निकुञ्जभित्रका वन पैदावार सुकेका दाउरा, घाँसपात निकासीमा र घरपालुवा पशुचौपाया चराउन प्रतिबन्ध भएका कारण नयाँ वन झाडीमा परिणत हुनुका साथै नयाँ घाँसहरु नपलाउँदा आहारा घट्नु पनि अर्को कारण रहेको छ ।
सेक्टर प्रमुख अधिकारीले नेपालदेखि ३०–३५ किलोमिटर दक्षिण भारतमा ३ वटा निकुञ्जका गैंडा पुगेको समेत बताए । ती गैंडा अहिले भारतीय भू–भागको उखुबारीमा छन् । नारायणी नदीमा पानीको सतह घटेपछि नेपालपट्टि सुस्ता आउन सक्छन् । यता आएपछि ती गैंडालाई ल्याइने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->