पोखरा, ३० असार– पोखरामा निजी ल्याबले पनि पीसीआर परीक्षण सुरु गरेको छ । पोखराको न्यूरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रालि (लाइफकेयर ल्याब) ले निजी क्षेत्रबाट गण्डकीमै पहिलोपटक कोरोना संक्रमण भए–नभएको जाँच ( पीसीआर) थालेको हो ।
नेपाल सरकारको स्वीकृतिसहित पीसीआर थालेको लाइफ केयरले कोभिड परीक्षणका लागि मात्रै १ करोड रुपैयाँ भन्दा बढी थप लगानी गरी प्रयोगशाला स्थापना गरिएको सञ्चालक डा. अमर नागिलाले जानकारी दिए ।उनका अनुसार ल्याबले सेवाग्राहीलाई २४ घण्टाभित्रै पीसीआरको रिपोर्ट उपलब्ध गराउने छ । सरकारको निर्णय अनुसार पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ नै कायम गरिएको र अरिरिक्त शुल्क नलिइने उनले स्पष्ट पारे । आवश्यक परे ३ घण्टामै पीसीआर रिपोर्ट दिन सकिने पनि उनले जनाए ।
लाइफ केयरका प्रबन्ध निर्देशक शुक्रराज कँडेलका अनुसार कोरोना परीक्षणका लागि अमेरिकी ब्राण्डको उच्च प्रविधिको ९६ वेलप्लेट आरटिपिसिआर मेसिन (एक पटकमा ९६ वटा टेष्ट गर्न सकिने) ल्याबमा राखिएको छ । पिसिआर परीक्षणका लागि १५ जना दक्ष जनशक्तिको व्यवस्था पनि गरिएको छ । दिनमा ५ सय जनाको परीक्षण क्षमता भएको उनले बताए ।
संचालक डाक्टर अमर नागिलाका अनुसार लाइफ केयरले परीक्षणको रिपोर्ट प्रमाणित गर्नका लागि पिएचडी उत्तीर्ण माइक्रोबायोलोजिष्टलगायत दक्ष कर्मचारी खटाएको छ । मेडिकल माइक्रोबायोलोजिष्ट डा. सञ्जिबमणि रेग्मीको पनि ल्याबमा संलग्नता छ । नागिला आफै पोखरा विश्वविद्यालयका प्राध्यापक हुन् । उनले ल्याब्रोटरी साइन्समा पिएचडी गरेका छन् । ५ वर्षअघिबाट पोखरामा सञ्चालित यो ल्याब प्रदेशकै एकमात्र क वर्गको ल्याब हो । ल्याबले नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी (एनपिएचएल) बाट मान्यता प्राप्त गरेको छ । राजधानी काठमाडौंमा रहेका स्तरीय ल्याब बराबरकै सुविधा लाइफकेयरमा रहेको संचालकहरुको दावी रहेको छ ।





