नवलपुर, ३ कात्तिक– गण्डक नहरमा ई–रिक्सा खस्दा रिक्सासहित एक बालक बेपत्ता भएका छन् । नवलपुरको विनयी–त्रिबेणी गाउँपालिका वडा नं. ७ स्थित ब्यारेजपुल पश्चिम गण्डक नहरमा ना १ ह ४५७८ नं. को ई–रिक्सा खस्दा ५ वर्षिय बालक बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार, बाबा प्रेम मिश्रसँगै पसलमा सामान किनमेलका लागि आएका ५ वर्षका छोरा शिबम् मिश्रले रोकिराखेको ठाउँबाट रिक्सा स्टार्ट गर्दा अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल गण्डक नहरमा खसेर दुर्घटना भएको हो । नहरमा खसेको रिक्सा र बालक बेपत्ता रहेको नवलपुर प्रहरी कार्यालयका सुचना अधिकारी मोहनबहादुर खाँणले बताए । घटनास्थल वरपर नहरमा स्थानीयसहित प्रहरीले खोजतलास गरिरहेको छ ।





