बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँका जनप्रतिनिधीले पनि दसैँ भत्ता फिर्ता गर्न थाले

तनहुँका जनप्रतिनिधीले पनि दसैँ भत्ता फिर्ता गर्न थाले

शुक्लागण्डकीमा उपप्रमुख पनि फिर्ता गरिन् दशैं भत्ता


  • Dhorpatan News
  • कार्तिक ६ २०७७, बिहिबार
शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले दसै भत्ता प्रमुख प्रसाशकिय अधिकृत गंगालाल सुवेदीलाइ फिर्ता गर्दै ।

तनहुँ कात्तिक ६– कोरोना कहरको बेला जनप्रतिनिधीले दसैँ भत्ता बुझेपछि चर्को आलोचना भईरहेको छ । जनताको सेवामा खटिएका जनप्रतिनिधीले महामारी बेला पनि भत्ता लिएको भन्दै सामाजिक सञ्जालदेखी, चिया पसल, चोक र चौतारीमा गफिनेहरुले वहस गरिरहेका भेटिन्छ ।
निर्वाचनमा आफुहरुलाई अमुल्य मत दिएर जिताएका जनताबाटै व्यापक आलोचना हुन थालेपछि संघ र प्रदेशका जनप्रतिनिधीले त लिएको भत्ता धमाधम फिर्ता गरिरहेका छन् । तनहुँमा भने स्थानिय तहका जनप्रतिनिधीले पनि दसैँ भत्ता फिर्ता गरेका छन् । उनीहरुले भत्ता फिर्ता गरेर आ–आफ्नो स्थानिय तहले खडा गरेको कोरोना कोषमा जम्मा गरेका हुन् ।
जिल्लामा नेपाली कांग्रेसबाट निर्वाचित भएका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखसंगै स्थानिय तहका प्रमुख र उपप्रमुखले पनि भत्ता फिर्ता गरेका छन् । तनहुँमा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र ६ स्थानिय तहमा प्रमुख तथा उपप्रमुख पदमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले दशैं भत्ता व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललाई हस्तान्तरण गर्दै ।

जिल्ला समन्वय समिति तनहुँका प्रुमख शान्तिरमण वाग्ले र उपप्रमुख पवित्रा पौडेलले आफुले पाएको भत्ता व्यास नगरपालिकाको कोरोना कोषमा जम्मा गरे । दसैँ भत्तामा वाग्लेले लिएको ३२ हजार रुपैयाँ र पौडेलले २८ हजार रुपैयाँ व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललाई हस्तानतरण गरी कोरोना कोषमा जम्मा गरेका हुन् । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले र उपप्रमुख मिरा जोशीले पनि ३०÷३० हजार रुपैयाँ फिर्ता गरे ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, उपप्रमुख आशा थापा, म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, ऋषिङ गाउँपालिकका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनु थापा, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ र देवघाट गाउँपालिकाकी उपाध्यक्ष विमला थापाले दशैं भत्ता बापतको रकम आ–आफ्नो पालिकाको कोरोना कोषमा जम्मा गरेको जनाएका छन् । यी सबै स्थानिय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएर विजयी भएका थिए । नगरपालिकाका प्रमुख र उपप्रमुखले ३० हजार रुपैयाँ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले २५ हजार रुपैयाँ दशैँ भत्तामा बुझेका थिए ।
कोरोनाको महामारी फैलिएको बेला आफुहरुले दसैँमा भत्ता लिनु उचित नभएकाले फिर्ता गरेको शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले बताए । ‘कोरोना नियन्त्रण र व्यवस्थापनामा हामीले फिर्ता गरेको रकमले थोरै भएपनि सहयोग पुग्नेछ’, गुरुङले भने, ‘जनप्रतिनिधी सदैव जनताको हितमा सर्मपित हुनुपर्छ ।’
शुक्लागण्डकीमा उपप्रमुख पनि फिर्ता गरिन् दशैं भत्ता

शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख सविता रसाईलीले दसै भत्ता प्रमुख प्रसाशकिय अधिकृत गंगालाल सुवेदीलाइ फिर्ता गर्दै ।

तनहुँमा बुधबार दसैँ भत्ता फिर्ता गर्ने सबै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधी हुन् । तर, नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट उम्मेदवार भई शुक्लागण्डकी नगरपालिकाको उपप्रमुख निर्वाचित सविता रसाईलीले पनि आफुले पाएको भत्ता फिर्ता गरिन् । उनले बुधबार दिउँसो प्रुमख प्रशासकिय अधिकृत गंगालाल सुवेदीलाई आफुले पाएको नगद ३० हजार रुपैयाँ हस्तानतरण गर्दै कोरोना कोषमा जम्मा गरेको बताईन् । विपद्को बेला जनताले आलोचना गर्नेगरी भत्ता लिन आवश्यक नरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->