तनहुँ, ८ असोज-नेपालीहरु महान पर्व दशैँ घरदैलोमा छाइसकेको छ । यो बर्ष कोरोना भाईरस संक्रमण बढिरहेकाले दसैँको रौनक उतिसारो छैन् । बजारमा विगतको जस्तो किनमेल गर्नेको त्यति सारो भिड देखिन्न ।
बजारमा भिडभाड नभएपनि अत्यावश्यक दैनिक उपभोग्य बस्तुको खरिद विक्री कहिल्यै रोकिदैन् । त्यसमा पनि खाद्यन्नका सामाग्री र तरकारीको उपभोग सधैँ एकनासको हुन्छ ।
सर्वसाधरणको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको खाद्यन्न र तरकारी व्यपारीले चाडपर्वको मौका छोपेर चर्को मुल्य असुल्ने, म्याद गुज्रेका अखाद्य बस्तु विक्री वितरण र मिसावट गर्ने भएकाले तनहुँको शुक्लागण्डकी नगरपालिकाले एक हप्ता लगाएर अनुगमन ग¥यो । अनुगमनको क्रममा व्यवसायिक इमानदारिताको खडेरी देखिएको छ ।
नगरपालिकामा बढी किनमेल हुने दुलेगौडा, खैरेनीटार, कोत्रे, एक्लेखेत, हलेदी, ढोरफिर्दी, साँखे र शेराटारका ६२ पसल अनुगमन गरिएको अनुगमन टोलीका संयोजक प्रसाशकिय अधिकृत लक्ष्मण लम्सालले बताए । तीमध्येका अधिकांश पसल मापदण्डमा नरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘अधिकांशमा म्याद गुज्रेका खाद्यवस्तु भेटियो । एकाध बाहेकका व्यवसायीले उपभोक्ताको स्वास्थ्यमाथी खेलवाड गरीरहेका पायौँ’, उनले भने ।
चाडपर्वको समय बढी उपभोग हुने पेय पदार्थ, घ्यू, तेल, मैदा, सुजी, अचार बढी म्याद गुज्रेको भेटिएको लम्सालले जानकारी दिए । अनुगमन टोलीले त्यस्ता म्याद नभएका र अखाद्य बस्तु जफत गरेको छ । कानुन बमोजिम नष्ट गर्ने जनाईएको छ ।
यस्तै, अधिकांश व्यवसायीले नगरपालिकामा व्यवसाय दर्ता र नविकरण नै नगरेको लम्सालले बताए । ‘व्यवसाय सञ्चालन गर्दा स्थानिय तहमा अनिवार्य व्यवसाय दर्ता र बार्षिक नविकरण गर्नुपर्ने प्रावधान छ । नगरपालिकाले बेलाबखतमा व्यवसाय दर्ता गर्न अनुरोध गरिरहे पनि व्यवसायीले भने अटेरी गर्दै आईरहेका छन् । कतिपयले दर्ता गरेरपनि बर्षौदेखी नविकरण गरेका छैनन् । उनीहरुलाई तुरुन्तै मापदण्डमा आउन भनिएको छ’, उनले भने ।
जनप्रतिनिधी, कर्मचारी, प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधी र पत्रकार सहितको अनुगमन टोलीले बजार व्यवस्थापन समिति संयोजक एवंम नगर उपप्रमुख सविता रसाईलीलाई प्रतिवेदन बुझाएको छ । मापदण्डमा नरहेका व्यवसायीलाई कारबाही गर्ने वा सुधर्ने मौका दिनेबारे उक्त समितिले निर्णय गर्नेछ ।
अनुगमन टोलीले बुझाएको प्रतिवेदन अध्ययन गरी उपभोक्ताको स्वास्थ्यमाथी खेलवाड गर्नेलाई व्यवसायीलाई कारवाहीको दायरामा ल्याउने उपप्रमुख सविता रसाईलीले बताईन् ।





