पोखरा, १० कात्तिक – गण्डकी प्रदेशमा थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ७११ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए।
निर्देशनालयका अनुसार यो प्रदेशमा कोरोना सङ्क्रमणबाट गत २४ घन्टामा थप चारजनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) कावासोतीका ७७ वर्षीय पुरुषको बिहान २:३० बजे मध्यबिन्दु अस्पताल नवलपरासीमा र सोही जिल्लाको गैंडाकोटका ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै, कोरोना सङ्क्रमणबाट पोखरा महानगरपालिका–१५ का ७८ वर्षीय महिलाको आइतबार राति ११:०० बजे चरक मेमोरियल अस्पताल पोखरामा र पोखरा–५ का ५५ वर्षीय पुरुषको आइतबार राति ९ :१० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको भएको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ ।




