पोखरा, १८ कात्तिक– पहिरोले अवरुद्ध भएको लमजुङको रामबजारदेखि मालिङ जाने बाटोमा मोटर गुड्न थालेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको गाउँ जाने बाटो उनकै निर्देशनमा मर्मत भएपछि त्यहाँ गाडी गुड्न थालेका हुन् । मुख्यमन्त्री गुरुङले पश्चिम लमजुङको रामबजार,करापुार, भन्ज्याङ, डढुवा, गिलुङ हुँदै मालिङ पुग्ने बाटोको गएको असोज महिनाको मध्यतिर अनुगमन गरेका थिए । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, सचिव रामचन्द्र श्रेष्ठ र प्राविधिकहरुको टोलीसहित त्यहाँ पुगेका उनले सडक मर्मतको निर्देशन दिएका थिए ।
मुख्यमन्त्रीको निर्देशन पालना भएसँगै सो बाटोमा एक महिनापछि मोटर गुडेको उनका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिएका छन् । जिल्ला पूर्वाधार कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरीलाई उधृत गर्दै न्यौपानेले जनाए अनुसार भन्ज्याङ खण्डमा गएको पहिरो हटाइपछि सडकमा मोटर गुडेको हो । सडक मर्मतको लागि गण्डकी प्रदेश सरकारले रकम उपलब्धभ गराएको थियो । बाटो मर्मतका लागि जनसहभागितासहित २१ लाख रुपैयाँ खर्च भएको छ ।





