बागलुङ, १८ कात्तिक– धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका कोभिड–१९ संक्रमित पुरुषको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ का ६६ बर्षिया पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
सघन उपचार कक्षमा भेटिलेटरमा रहेका उनको केही दिन देखि स्वास्थ्य अवस्था स्थीर थियो । मंगलबार बिहान १०ः२० बजे उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले बताए । कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि उनी कात्तिक १२ गते अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा गरिएको जाँचमा कोभिड–१९ पुष्टिभएपछि एकसाता अघिदेखि उनलाई भेन्टिलेटरमा राखिएको गौतमले बताए ।
नेपालकै पाँचौं र छैटौं संक्रमितको उपचारबाट कोभिड–१९ का बिरामीको उपचार थालेको धौलागिरी अस्पतालमा संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र बिक पोखरेलका अनुसार ती पुरुषमा मुटु र फोक्सोको समस्या थियो । मृतकको शव व्यवस्थापनका लागि तयारी भैरहेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । ‘हामिले नेपाली सेनालाई आग्रह गरेका छौं, सेनाले शवको व्यवस्थापन गर्छ’ प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भने । अस्पतालमा अन्य ६ जना संक्रमितको उपचार भैरहेको छभने जिल्लाका अन्य आईसोलेसनमा १ सय ४ जना सक्रिय संक्रमितको उपचार भैरहेको छ । यो सँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । गण्डकी प्रदेशमा मृत्यु हुने संक्रमितको संख्या ८२ पुगेको छ ।





