तनहुँ, १९ कात्तिक– कोरोना भाईरसको संक्रमण समुदायस्तरमा तिब्र गतिमा फैलिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रमा लकडाउनको घोषणा गरेको छ ।
बुधबार दिउँसो बसेको नगर कार्यपालिका बैठकले बुधबार राती १२ बजेदेखी आगामी मंगलबार रातीसम्म लकडाउन गर्ने घोषणा गरेको हो । यो अवधिमा नगरक्षेत्रमा राजमार्गसंग जोडिएको बजारसंगै ढोरफिर्दी र साँखे बजार पनि बन्द रहने नगरप्रवक्ता खिमबहादुर कुमालले बताए ।
कुमालका अनुसार अत्यावश्क सेवामा पर्ने स्वास्थ्य, सरसफाई र विपद व्यवस्थापनबाहेक बैंक तथा वित्तिय संस्था, सामाजिक संघसंस्था, सार्वजनिक र निजी संस्थान, उद्योग कलकारखाना र यातायातले दिने सेवा बन्द हुनेछ । ‘पुर्व निर्धारित कक्षा ११ को परिक्षा भने सञ्चालन हुनेछ । यद्यपी परिक्षा सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना हुनुपर्नेछ’, प्रवक्ता कुमालले भने । नगरपालिका र वडा कार्यालयबाट अत्यावश्कय सेवा प्रवाहा हुने उनको भनाई छ ।
नगरपालिकाले अत्यावश्क कामबाहेक घरबाट वाहिर ननिस्कन नगरबासीलाई सचेत गराएको छ । मास्क लगाउने, समुहमा हिँडडुल नगर्ने, भौतिक दुरी कायम गर्ने र धार्मिक तथा सामाजिक कार्यका लागी भेला नहुन भनिएको छ ।
शुक्लागण्डकीको मुख्य व्यापारिक केन्द्र दुलेगौँडा बजारमा कोरोनाको संक्रमण भित्रभित्रै फैलिएपछि जनस्तरबाट लकडाउन गर्न आवाज उठिरहेको थियो ।
स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार शुक्लागण्डकीमा १ सय ४६ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । १ सय १० जना कोरोनामुक्त भएपछि हाल संक्रिय संक्रमितको संख्या ३६ छ । २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
उता जिल्लाकै म्याग्दे गाउँपालिका पनि मंगलबारदेखी बन्द छ । कर्मचारी र जनप्रतिनिधीमा कोरोना संक्रमणको पुष्टी भएपछि शुक्रबारसम्म गाउँपालिकाको कार्यालय, वडा कार्यालय, गाउँपालिका क्षेत्रमा सञ्चालित संस्थागत र सामुदायिक विद्यालयसंगै सेवा प्रदायक संस्थाबाट प्रवाहा हुने अत्यावश्यक बाहेकका सेवा पुर्ण रुपमा बन्द छन् ।





