बागलुङ, २० कात्तिक– कोरोना भाईरसको संक्रमण बढ्दो क्रममा रहेकाले विषम परिस्थिती आउन सक्ने भन्दै बागलुङको ढोरपाटन नगरपालिकाले विद्यालयहरुलाई प्रत्यक्ष पठनपाठन बन्द गर्न निर्देशन दिएको छ ।
बुधबार सबै सामुदायीक तथा संस्थागत विद्यालयलाई पत्राचार गर्दै नगरपालिकाले तत्काल प्रत्यक्ष पठनपाठनको काम बन्द गर्न भनेको हो । नेपाल सरकारले भदौ १९ गते जारी गरेको निर्देशिकाअनुसार विद्यार्थीलाई सिकाईमा सहभागि गराउन अनुरोध गर्दै नगरपालिकाले प्रत्यक्ष पठनपाठन रोक्न भनेको हो ।
प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले सबै विद्यालयलाई सरकारको निर्देशन पालना गर्न आग्रह गरेका छन् । सरकारले बैकल्पिक विधिबाट सिकाईमा सहभागि गराउने भनेपनि ढोरपाटनका सामुदायीक तथा संस्थागत विद्यालयले विद्यार्थीलाई कक्षा कोठामै पठनपाठन गराउँदै आएका थिए । इन्टरनेटको पहुँच कम रहेको ढोनपामा अनलाईनका माध्यामबाट पठनपाठन गराउने काम चुनौतीपूर्ण रहेको विद्यालयहरुले गुनासो गर्दै आएका छन् ।





