नवलपुर, २० कार्तिक –नवलपुरमा पछिल्लो २४ घण्टामा भएका तीन छुट्टाछ्ट्टै घटनामा ८ जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरमा काम गर्दैगरेका ५ मजदुरको सुख्खा पहिरोले पुरिएर ज्यान गएको छभने भीरवाट लडेर एक महिलाको ज्यान गएको छ । यस्तै, २ दिनदेखी हराएका दाजुभाई खोलामा मृतावस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पहिरोमा परेर बुलिङटार–४ का गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुंगेली, तुलबहादुर सारु र सुनबहादुर पुलामीको मृत्यु भएको हो । पुरिएका ५ जनाको शव इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली र स्थानीयले पहिरोबाट बाहिर निकालेका थिए ।
ग्याबिनमा ढुंगा भरिरहेको बेला माथिबाट खसेको पहिरोमा ७ जना मजदुरहरु पुरिएकोमा २ जनालाई घाईते अवस्थामै उद्धार गरी उपचारका लागी भरतपुर पठाईएकोे छ ।
कालीगण्डकी करिडोरको अन्तरगत नवलपुर खण्डको बुलिङ्टार गाउँपालिका ५ मा बुधवार साँझ सुख्खा पहिरो खसेको हो ।
यस्तै, बुधबार बिहान घाँस काट्ने क्रममा भीरबाट खसेर बुलिङटार ५ लपाककी ३१ बर्षीया पिहीसरा सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
यस्तै, बुधबार साँझ गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा २ वटा शव फेला परेको छ । गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेलको शव फेला परेको नवलपुर प्रहरीले जनाएको छ । पौडेल दाजुभाई सोमवारदेखी परिवारको सम्पर्कमा नरहेकोले परिवारले खोजतलासमा सघाउन हारगुहार गरेका थिए ।





