बागलुङ, २१ कात्तिक– गत कात्तिक १९ गते धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्युभएका एक पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । बागलुङ नगरपालिका–२ का ८१ बर्षिय पुरुषको सघन उपचार कक्षमा उपचारको क्रममा मृत्यु भएको थियो ।
स्वासप्रस्वासमा समस्या, ज्वरो र खोकी सहितका लक्षण देखिएपछि धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका उनको मृत्यु भएपछि कोरोना संक्रमणको आशंकामा अस्पतालले थ्रोट स्वाव जाँचका लागि पठाएको थियो ।
शुक्रबार आएको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । संक्रमणको आशंकामा मृतकको शव दाहसंस्कार गरिएको छैन् । धौलागिरी अस्पतालको शवगृहमा रहेको उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग छलफल भैरहेको अस्पतालले जनाएको छ । पत्र प्राप्त नभईसकेकाले शव व्यवस्थापनको काम सुरु नभएको अस्पतालले जनाएको छ ।





