
तनहुँ, २३ कात्तिक– खैरेनीटारका मुक्तिनाथ तिम्लिसिनाले शनिबार झिसमिसेमै मानहुँकोटको डाँडामा उक्लिए । नेकपा शुक्लागण्डकी नगर कमिटि अध्यक्ष समेत रहेका उनी साढे दुई बर्ष पहिले पनि कामको सिलसिलामा त्यहाँ पुगेका थिए । त्यतिबेला डाँडो सुनासान देखिन्थ्यो ।
यसपाली सामाजिक सञ्जालभर मानहुँकोट घुम्न गएको तस्वीर छ्यापछ्याप्ती पोस्टिन थालेपछि उनलाई पनि तान्यो । र, साथीभाई लिएर घुम्नलाई निस्किए । मानहुँकोट पुग्दा उनलाई अच्चमित बनायो । किनकि, कोरोना कहरको बेला पनि हजारौ पर्यटकको ताँती देखे उनले । पत्याउनै मुस्किल, महामारीको बेला पनि हजारौ पर्यटक ।
सूर्योदय हेर्नलाई मानहुँकोटको डाँडाभरी छरिएका पर्यटकले गुल्जार देखिएको थियो । ‘कल्पना गर्नै नसकिने भी देखियो पर्यटकको’, उनले भने, ‘पूर्वाधार थप गर्दै व्यवस्थित बनाएको खण्डमा मानहुँमा पर्यटनको सम्भावना निकै देखिन्छ।’ मानहुँकोटको डाँडोले वरपरको गाउँलेलाई पर्यटनको माध्यमबाट आत्मानिर्भर र सम्बृद्ध बनाउन सक्ने उनको अनुमान छ ।
दमौली स्थित एक लघुवित्त संस्थामा कार्यरत पर्वतका सन्तोष अधिकारी पनि साथीभाई लिएर शनिबार मानहुँकोट पुगे । सधँै कार्यालयको कामले व्यस्त हुने उनले मानहुँकोट उक्लिएर दमौली बजारलाई कुहिरोले ढाकेर सूर्योदय भएको दृश्य देख्दा छुट्टै संसारमा पुगेको महसुस भएको सुनाए । ‘आश्चर्यलाग्दो ठाउँ छ । रिफ्रेस पनि भइने । तर, पर्यटक आइसकेपछि केहीबेर अडिने पूर्वाधारको अभाव खड्कियो । बिस्तारै थप्दै पूर्वाधार थप होला । तत्काललाई भने शौचालय र पार्किङ स्थलकै आवश्यकता रहेछ ।’
शनिबार मुक्तिनाथ र सन्तोष जस्तै साथीभाई लिएर व्यास नगरपालिका–५ मानहुँकोट पुग्ने पर्यटकको ताँती थियो । तनहुँका विभिन्न भूगागसँंगै छिमेकी जिल्ला कास्की, स्याङजा, लमजुङ, गोरखा, चितवन, काठमाडौं लगायत देशका विभिन्न स्थानबाट मानहुँकोट घुम्न आएका थिए ।
दमौली बजारको चापाघाटबाट ६ किलोमिटर परको दुरीमा पर्ने मानहुँकोटको डाँडोसम्मै सडकमा सवारीको जाम लागेको थियो ।लावालस्कर सवारीको जाम हटाउन खटिएका ट्राफिक प्रहरीलाई सकस भएको थियो ।
केही पर्यटक शुक्रबार नै मानहुँकोट पुगेर बसेका थिए । अधिकांश शनिबार झिसमिसेमै उक्लिएका हुन् । अरुदिन सुनसान हुने पृथ्वी राजमार्गको तनहुँखण्डमा शनिबार मानहुँकोट जाने दुईपाँग्रे सवारीको कारण बिहान ३ बजेदेखि नैचहलपहल थियो ।
शनिबार १५ हजारको हाराहारीमा पर्यटक मानहुँकोट आएको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । ‘मेला महोत्सवमा जस्तै डाँडैभरी पर्यटकको ताँती थियो’, उनले भने, ‘बिस्तारै वामे सार्दै गरेको गन्तव्यमा यतिधेरै पर्यटकको ओइरो लाग्ला भनेर कल्पना समेत गरिएको थिएन् ।’
महर्षी वेदव्यासको तपोभुमी दमौली बजारको पश्चिमपट्टि शीरमा मानहुँकोटको डाँडो छ । दमौली बजारले कुहिरोको घुम्टो ओढेर सुर्य उदाँउदाको दृश्य हेर्न लालयित आन्तरिक पर्यटक मानहुँकोटको डाँडोमा उक्लनछन् ।
दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिन्छ । परापूर्वकालमा महर्षी व्यासका पिता पराशर ऋषिले माझीकी छोरी मत्स्यगन्धासँग सम्भोग गर्न लागेको समय लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको प्रसंगहरु उल्लेख छ । त्यही कुुहिरोका कारण दशैँयता पर्यटकको संख्या ह्वात्तै बढ्यो मानहुँकोटमा ।
दशैँपछि दैनिक हजार बढी पर्यटक दमौलीबाट मानहुँकोट उक्लने गरेकोमा शनिबार रेकर्ड नै राख्ने गरेर पर्यटक आएको श्रेष्ठले बताए । ‘गतवर्ष पर्यटकीय सिजनमा दैनिक २÷३ सयको हाराहारीमा पर्यटक आउथे । यो वर्ष दशैँपछि त्यो संख्या बढेर हजारमा पुग्यो । शनिबार त अचम्मै पर्यटक उर्लिए । थामी नसक्नु भिड भयो’, उनले भने ।
आजभोलि मानहुँकोटको चर्चा जताततै छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको फोटो छ्यापछ्पाप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको जमात पनि बाक्लो छ । ।
समुदायस्तरमा कोरोनाको संक्रमणको जोखिम बढीरहेको बेला कोरोना भुलेर हजारौँ पर्यटकको भीड लाग्दा जोखिम झनै बढेको छ । सामाजिक सञ्जालमा मानहुँकोट कोरोना फ्रि जोन हो भनेर समेत व्यंग गर्न थालेका छन् । घुम्न आउँदा पर्यटकले कम्तीमा पनि सचेतना अपनाई मास्क तथा सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी आनिवार्य कायम राख्न वडाध्यक्ष श्रेष्ठको अनुरोध छ । ‘कोरोनाको कारण घरबाट निस्किएर घुम्ने अवस्था छैन् । सकभर कमै हिड्नुस’,उनको अनुरोध छ ।
मानहुँकोटबाट सूर्योदय, सर्यास्त, हिमश्रृंखला, दमौली बजार, मादी र सेती नदीको दृश्य आकर्षक देखिन्छ । पर्यटकको भीड लाग्ने गरेपनि मानहुँकोटमा पुर्वाधारको अभाव छ । सडक, शौचालय, पार्किङस्थल, होटलको अभाव रहेको छ ।
मानहुँकोटको डाँडामा होटल नहुदाँ फाइदा यतिबेला दमौली र आसपासका होटल सञ्चालकले लिएका छन् । सात महिनासम्म कोरोनाले थला परेको होटल व्यवसायीलाई उत्साह थपेको होटल सस इन दमौलीका सञ्चाल जिवन शाहीले बताए । ‘एक हप्तादेखी भरिभराउ नै छ’, उनले भने, ‘दमौलीमा कोठा अभाव हुदाँ बन्दीपुर समेत पनि पठाउने गरेका छौँ ।’ मानहुँमा पर्यटकको चाप बढ्दा ठप्प रहेको होटल व्यवसायलाई राहत मिलेको उनको भनाई छ । पाहुनालाई बास बसाल्ने क्षमताको होटल मात्रै नभएर दमौली आसपासमा साना चिया पसलमा पनि व्यपार बढेको छ । मानहुँकोटमा पर्यटकको चापले दमौलीका मोटरसाईलक वर्कसप सञ्चालक र टेन्ट भाँडामा दिने व्यपार पनि फस्टाएको छ ।





