तनहुँ, २३ कात्तिक– भिमाद नगरपालिकाले तीन दिनका लागी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । आईतबार दिउँसो ३ बजेदखी शुक्रबार रातीसम्म नगरपालिकाबाट प्रदान हुने स्वास्थ्य र सुरक्षा बाहेकका सबै सेवा बन्द भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत पदमराज आचार्यले बताए ।
नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएकाले कन्ट्रयाक ट्रेसिङ गरी संक्रमणको अवस्था पहिचान गर्नलाई नगरपालिका बन्द गरिएको उनले जनाए । स्रोतका अनुसार शनिबार भिमाद नगरपालिकामा कार्यरत एक जना नगर प्रहरीलाई कोरोना पुष्टी भएको छ ।
संक्रमितको कन्ट्रयाक ट्रेसिङमा परेका कर्मचारी, व्यवसायी र नगरबासी सर्वसाधरणको पिसीआर परिक्षण गर्न भिमादका सबै क्षेत्र र सेवा बन्द गरिएको नगरपालिकाले विज्ञप्ती निकालेर जानकारी दिएको छ । भिडभाड हुने खेलकुद तथा साँस्कृति कार्यक्रम र अनावश्यक घुमफिर नगर्न नगरपालिकाको अनुरोध छ ।
कन्ट्रयाक ट्रेसिङमा परेका, विदेश र जोखिमयुक्त स्थानबाट आइ होम क्वारेन्टिनमा बसेपछि स्वाब दिएका व्यक्तिलाई पिसीआर रिपोर्ट नआउँदासम्म समुदायमा घुलमिल नहुन सचेत गराइएको छ ।
यसअगाडी समुदायमा कोरोना संक्रमण देखिएपछि भिमाद असोज १७ गतेदेखि ११ दिनसम्म बन्द गरिएको थियो । स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार भिमादमा हालसम्म ८२ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । तीमध्ये ४ जनाको मृत्यु भएको छ भने ५३ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
भिमादसंगै जोडिएको जिल्लाकै शुक्लागण्डकी नगरपालिका पनि कात्तिक १९ गतदेखी २५ गतेसम्मका लागी बन्द छ । नगरमा राजमार्गसंग जोडिएका बजार क्षेत्रमा लकडाउन जारी छ । कोरोना संक्रमणले सताएपछि जिल्लाका अन्य स्थानिय तह पनि बन्द हुदैँ खुल्दै गरिरहेका छन् ।





