
तनहुँ, २६ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी नेकपाको तल्लो तहसम्म पार्टी एकताको प्रक्रिया पूरा नहुँदै विभाजनको संघारमा पुगेको राजनितिक वृतमा चर्चा चलेको छ । पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आ–आफ्नै अडानका कारण पार्टी विभाजनको संघारमा पुगेको हो ।
चुनावताका तत्कालीन एमाले र माओवादी केन्द्रबिच पार्टी एकता घोषणा गर्दै जनताको दुई तिहाई मत ल्याएर वर्तमान नेकपा सरकारले देश हाँकिरहेको छ । अस्थिर सरकारका कारण देश नभएको ठानेर जनताले दुई तिहाईको मत दिएको वर्तमान नेकपाको सरकारसँग अलिक बढी नै आशावादी छन् । तर, अहिले नेकपाभित्रै देखिएको आन्तरिक विवादले जनतामा निराशा छाएको छ । पार्टीको केन्द्रीय तहको विवादले स्थानीय तहका नेता कार्यकर्तामा पनि चिन्ता बढाएको छ ।
नेकपा केन्द्रको विवादले समाजवादी नेपाल निर्माण हुने सुनौलो सपनामा संकट उत्पन्न गराएको भन्दै नेकपा शुक्लागण्डकी नगर कमिटीले पार्टीको ऐतिहासिक एकतामा विभाजन ल्याउने कार्यको अन्त्य गर्न माग गर्दै खबरदारी गरेको छ । कमिटिले केन्द्रिय कमिटीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डे र जिल्ला कमिटी अध्यक्ष केदार सिग्देललाई ज्ञापनपत्र पठाएको छ । नेकपा केन्द्री कमिटी सदस्य आशा कोइरालामार्फत ओली र प्रचण्डलाई, प्रदेश कमिटी सदस्य दुर्गा पराजुलीमार्फत पाण्डेलाई ज्ञापनपत्र पठाएको हो । ‘ऐतिहासिक संघर्षहरुको उपलब्धिद्धारा पार्टीको आम कार्यकर्ता, समर्थक र जनतामा आएको उत्साहलाई अहिले देखा परेको गतिविधिले गहिरो चोट पु¥याएको छ’, ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
पार्टी विभाजन रोक्नलाई ज्ञापनपत्र बुझाएको नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सेना बताउँछन् । ‘पार्टीको तल्लो तहमा पनि कार्यकर्ताहरु एक आपसमा आरोप प्रत्यारोपमा लागेका छन् । यो विभाजनले विचारको नभइ व्यक्तिको पछि लागेको जस्तो देखिन्छ । यसो हुदाँ पार्टीमा वैचारिक स्खलन भएको हो कि भन्ने हामीलाई चिन्ता जाग्यो’, उनी भन्छन्, ‘केन्द्रमा भएको वादविवादले नगर कमिटीलाई प्रभाव पार्ने छैन । श्रमजिवीका लागी काम गर्ने हामी कार्यकर्ताले पार्टी टुटफुट भइहालेको खण्डमा पनि कसैको पक्षमा लाग्ने छैनौँ । एकताको साथ अगाडी बढ्नेछौँ भनेर केन्द्रीय, प्रदेश र जिल्ला कमिटीको ध्यान आकृष्ट गराएका छौँ ।’ नेतृत्व तहमा देखिएको विवादलाई कार्यकर्ता तहमा आगोमा घ्यू थप्ने काम नगर्न उनको सुझाव छ । कम्यूनिष्टहरुको विभाजनका कारण जनताले व्यहोर्दै आएको पिडालाई फेरी दोहो¥याउन नहुने तिम्सेनाको तर्क छ ।
अध्यक्षद्धयबिच पैदा भएको अन्तर विरोध नकरात्मक ढंगले अगाडी बढेको नगर कमिटी सचिव पर्शुराम भण्डारीको धारणा छ । उनी भन्छन्, ‘पार्टीमा अन्तरसंघर्ष र अन्तरविवाद पैदा हुनु स्वभाभिक हो ।तर, पार्टीमा हाल जुन किसिमको नकरात्मक अन्तरविरोध देखिएको छ । यसले पार्टीपंक्ति र आम परिवर्तनगामी जनतामा अन्यौलता छाएको छ ।’ अन्यौलता अन्तय गर्न र शहिदहरुको सपना साकार पार्न पार्टी विधानसंगै घोषणापत्रलाई केन्द्रिय कमिटीले आत्मासाथ गर्न उनको अनुरोध छ ।
दुई पार्टीबिचको मिलनले सार्थकता नपाउँदै तुषारापात हुन्छ कि भन्ने आभाष आम कार्यकर्तामा उत्पन्न भएको नेकपा गण्डकी प्रदेश कमिति सदस्य दुर्गा पराजुलीले सुनाए । ‘नेपालको कम्युनिष्ट आन्दोलन फुट र विभाजनमा मात्र सीमित रह्यो, जनता र कार्यकर्ताले कम्युनिष्ट पार्टी टुक्राटुक्रा छ भन्ने आभाष गरेको बेलामा पार्टी एकताको घोषणाले उत्साह थपेको थियो । वर्तमान परिस्थितीको मनमुटावले फेरि सबैलाई चोट पु¥याउने काम गरेको छ’, उनले भने ।
केन्द्रिय सदस्य आशा कोइरालाले राष्ट्र र जनताको लागी जवाफदेही भएर एकताबद्ध भएर अगाडी बढ्नुको विकल्प पार्टीलाइई नभएको बताइन् । ‘नेपालका सबै कम्युनिष्ट पार्टीलाई एकिकृत गरी एउटै कम्युनिष्ट केन्द्र बनाउने उदेश्यका साथ ठुला दुई पार्टीबिच एकता भएको हो । एकताको प्रकृया तल्लो तहसम्म टुंगिन नपाउदैँ विभाजन हुने वातावरण देखिएको छ’, उनले भनिन्, ‘कम्युनिष्टहरु फुटतिर होईन एकतातिर जानुपर्छ र समग्र विश्वकै नेतृत्व लिन पर्छ ।’ पार्टी विखण्डनको संकेत नेपाली जनताको लागी पनि अत्यन्तै दुखद भएको बताउदै कोइरालाले एकताबद्ध भएर नेपाली जनताको आशा अपेक्षा पुरा गर्नुपर्नेमा जोड दिइन् ।





