बागलुङ, ४ मंसिर– धौलागिरी बहिरा आवासीय माबिले कक्षा ११ का विद्यार्थीले गत चैतमा दिँदा दिंदै रोकिएको परीक्षाकालागि बिद्यार्थी बोलाएको छ । सिटिइभिटीले मंसिर ९ गतेदेखि परीक्षा लिने तयारी गरेपछि विद्यालयले तिहार अघिनै बिद्यार्थीलाइ बोलाएको हो । कम्तिमा १४ दिन क्वारेन्टाइन बसेर मात्र परीक्षा दिनुपर्ने मनसाय विद्यालयले राखेको छ ।
‘फरक जिल्लाका बिद्यार्थी भएकोले ७२ घण्टा अघिको पिसिआर रिपोर्ट लिएर आउन भनेका छौं’प्रअ रेशमबहादुर श्रीषले भने, ‘कि त पहिला आएर बसेको हुनुपर्छ ।’ तिहारको समय भएकोले अधिकांश अभिभावकले छोराछोरीलाई बागलुङ पठाएर क्वारेन्टाइन राख्न भने चाहेका छैनन् । कतिपय अभिभावकले बालबालिका सुरक्षित घरमा बसेकोले सुरक्षित रुपमै ल्याएर परीक्षा दिलाउन खोज्दा विद्यालयले अप्ठ्यारो पारेको गुनासो पनि गरेका छन् ।
परीक्षा संचालन हुने कक्षाहरुको समस्या जस्तै नियमित कक्षा थालेर पढाउनुपर्नेको पनि उत्तिकै समस्या छ । यस्ता समस्या अधिकांश विद्यालयका शिक्षक र विद्यार्थीले भोगेका छन् । कतिपय विद्यालयले नियमित कक्षा झै बैकल्पिक शिक्षण सिकाइका कक्षा चलाएका छन् । तर, धेरै विद्यार्थी भएका र सदरमुकामसहित बजार क्षेत्रका विद्यालयमा भने यो समस्या बढी छ । ‘धेरै जिल्लाका विद्यार्थी पढ्ने भएकोले हामीले सबैलाई बोलाएर पढाउनै सकेका छैनौंँ’, विद्यामन्दिर माविका प्रअ शान्तमणि ढकालले भने, ‘टोलमा पढाउन पनि भवन अभाव छ ।’ नजिकका टोलमा पढाएपनि अधिकांश विद्यार्थी टाढाका भएको उनले बताए । कतिपय विद्यार्थी फरक जिल्लाको भएकोले चैतमा घर गएकाहरु अझै फर्कने संभावना नरहेको पनि उनले बताए ।
बेलाबेला कोरोना संक्रमित बढेको भन्दै बागलुङ नगरपालिकामा लकडाउन भैरहेको छ । बाहिर डुल्न वा समूहमा पढ्न पनि जोखिम भएपछि अभिभावकले पनि बालबालिका पठाउन सकेका छैनन् । निजी बिद्यालयले पनि कक्षा संचालन गर्न नसकेको बताए । ‘जोखिम भयो भने कसले जिम्मा लिने भनेर अन्यौलमा छौं’ एक निजि विद्यालयका शिक्षकले भने, ‘छिटफुट अनलाइन कक्षा चलाएपनि बिद्यालय बोलाउन सकिएन ।’
ग्रामीण क्षेत्रमा भने नियमित कक्षा चलेका छन् । तमानखोलाका सबै बिद्यालयमा बिहान र दिउसो गरी दुइ चरणमा बैकल्पिक शिक्षण सिकाइ भन्दै पढाइ धमाधम भएको छ । यहाँका बिद्यार्थीलाई मास्क र सेनिटाइजर समेत गाउँपालिकाले उपलब्ध गराएको अध्यक्ष जोकलाल बुढाले बताए ।
गलकोटका पनि अधिकांस बिद्यालयमा दुई चरणमा पढाइ भएको छ । केही विद्यालयले टोलमै सार्वजनिक भवनहरुमा कक्षा चलाएको हो । यसरी कक्षा चलाएपछि बालबालिकाले सिक्ने र परीक्षा समेत दिन सक्ने वातावरण बनेको हो । सरकारको एकरुपताको अभियान नभएपछि परीक्षा र कोर्ष अगाडि बढाउने बिषयमा भने अन्यौलता देखिइरहेको शिक्षकहरुले टिप्पणी गरे ।
कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई जुम एप्सबाट पढाउन खोज्दापनि संभव नभएको ठूला बिद्यालयका शिक्षकले टिप्पणी गरे । ‘मैले जुम एप्सबाट पनि पढाई थालेको छु, तर सबैको पहुँचमा इन्टरनेट छैन’, ढकालले भने, ‘छुटेका बालबालिका र अभिभावकले फोन गरेर गाली गरेका छन्’ मजदुरका बालबालिका अधिकांश अर्कै जिल्ला छन् । उनीहरु यहाँ समेटिने संभावना नभएको उनले बताए । बागलुङ नगरपालिका भित्रका ८८ विद्यालयमध्ये दुईदर्जन विद्यालयमा मात्रै सिकाई सहजीकरण संभव भएको शिक्षकहरु बताउँछन् । ‘निर्देशिका आयो, हामीले पत्राचार पनि गरेका छौं, तर सहज छैन’, नगर शिक्षा अधिकारी डण्डपाणि शर्माले भने, ‘नगर क्षेत्रका बिद्यार्थी न टोलमा भेटिन्छन्, न सबै इन्टरनेटको पहुँचमा छन् ।’ निर्देशिकाले भने आगामी मंसिरमा अर्धबार्षिक परीक्षा लिने समेत उल्लेख छ ।
ढोरपाटन नगरपालिकामा यो समस्या अभैm बढी छ । बजार रहेको बुर्तिवाङमा पढ्ने अधिकांश गाउँका बालबालिका थिए । बजारभित्रै आधा विद्यार्थी पनि छैनन् । लकडाउनपछि घर गएका बालबालिका बजारमा ल्याउन संभव नहुने नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । ‘गाउँपनि धेरै टाढा छ, दरबन्दीका दुईचार जना शिक्षकले कसरी पढाउँछन् ?’, उनले भने, ‘बालबालिकालाई पाठ्य पुस्तक पु¥याइदिने र पढ्न लगाउने काम मात्रै संभव छ, दैनिक कक्षा संभवै छैन ।’ यो नगरपालिकाको वडा नं. ५, ६, ७, ८ र ९ का अधिकांस बालबालिका ढोरपाटनगएकोल सम्पर्कमा समेत छैनन् । जाडो लागेपछि बेसी झर्नेले पनि सम्पर्क नगरेको उनले बताए ।





