बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विद्यामन्दिरले सम्झियो शिक्षासेवी ओमकार गौचनलाई

विद्यामन्दिरले सम्झियो शिक्षासेवी ओमकार गौचनलाई

कार्यक्रमका सहभागीहरुले गौचनको सादगीपन, इमानदारी र बौद्धिकताको खुलेर स्मरण गरे ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०७७, सोमबार

बागलुङ, ८ मंसिर – जिल्लाको पुरानो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयले शिक्षासेवी ओमकार गौचनको योगदानको स्मरण गर्दै सोमबार विद्यायलमा शोकसभा आयोजना गर्यो । विद्यालयका संरक्षकसमेत रहेका गौचनले बागलुङ जिल्ला र साविकको धौलागिरि अञ्चलको शैक्षिक उत्थानमा महत्वपूर्ण योगदान पु¥याएको कार्यक्रमका सहभागीहरूले स्मरण गरे ।
कार्यक्रममा सांसद मन केसी, पूर्वसांसद गोविन्दप्रसाद कँडेल, नेपाल रेडक्रस सोसाइटी बागलुङका पूर्वसभापति विश्वनाथ रेग्मी, नेकपाका नेता हिरा केसी, विद्यामन्दिर माविका पूर्वप्रअ जगन्नाथ आचार्य, समाजसेवी लालचन्द्र राजभण्डारी, देवबहादुर श्रेष्ठ, विद्यामन्दिर माविका व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारी, शिक्षक छविरमण रेग्मी र प्रधानाध्यापक शान्तामणि ढकालले गौचनको भूमिका र योगदानबारे चर्चा गरे । उनीहरूले गौचनको सादगीपन, इमानदारी र बौद्धिकताको खुलेर स्मरण गरे । कार्यक्रमको संचालन शिक्षक भिमप्रसाद गौतमले गरेका थिए ।
१९९७ सालमा निर्मित विद्यामन्दिर माविका पहिलो पुस्ताका विद्यार्थी गौचनको गत महिना निधन भएको थियो । पूर्वमन्त्री रहेका उनी उनी १९९२ सालमा ओमप्रसाद र माता पतिसाङ्मोको जेठा छोराका रूपमा बागलुङ नगरपालिका–३ नारायणचोकमा जन्मिएका थिए ।
गौचनको सम्पादकत्वमा धौलागिरि अञ्चलमै पहिलोपटक हस्तलिखित साप्ताहिक पत्रिका ‘सही बाटो’ प्रकाशन भएको थियो । उक्त पत्रिकाले यस क्षेत्रमा पहिलो सञ्चार सामग्रीका रूपमा स्थानीयलाई सुसूचित गर्ने काम गरेको थियो । गौचन २०२४ सालमा बागलुङ जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका थिए ।
पञ्चायत कालमा उनी शिक्षा सहायक र सञ्चार सहायक मन्त्री भएका थिए । उनी २०४२ सालमा गठित पञ्चायतका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह नेतृत्वको सरकारमा वन राज्यमन्त्रीसमेत बनेका थिए । उनी १९९७ सालमा निर्मित विद्यामन्दिर माविको संरक्षक तथा सल्लाहकार, २००३ सालमा निर्मित विद्यामन्दिर पुस्तकालयको अध्यक्ष तथा प्रधान संरक्षक थिए ।
२०३४ सालमा नेपाल परिवार नियोजन संघ बागलुङका संस्थापक अध्यक्ष गौचन २०४८ सालमा स्वतन्त्रबाट बागलुङ क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनलाईय नेपाली काँग्रेस सहयोग गरेको थियो । पछि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
गौचन हुलाक टिकटको संस्था फिलाटेलिक सोसाइटीका अध्यक्ष पनि थिए । लुम्बिनी विकास कोषका उपाध्यक्षसमेत रहेका गौचनले २०६० सालमा बृहत्तर लुम्बिनीको अवधारणासँगै मायादेवीको मन्दिर बनाउन नेतृत्व गरेका थिए । २०५९ सालमा गौचनले बानपा–३ भूपिचोकमा विद्यामन्दिर पुस्तकालयको नयाँ भवन बनाउन पहल गरेका थिए । विद्यामन्दिर मावि २०७२ सालको भूकम्पले भत्काएपछि २०७३ सालमा उनकै संरक्षण र अभिभावकत्वमा अत्याधुनिक भवन निर्माण भएको छ ।
गौचनलाई बागलुङको सामाजिक, राजनीतिक, शैक्षिक, आर्थिक, सांस्कृतिक पक्ष र जिल्लाका २२ खानीका विषयमा पनि विशेष दक्खल थियो । बागलुङको पश्चिमी भेगमा थुप्रै झोलुङे पुल निर्माण र यस क्षेत्रका धेरै दुर्गम क्षेत्रहरूमा विद्यालय स्थापनाका लागि उनले नेतृत्व गरेका थिए ।
सोही कारण आज बागलुङलाई झोलुङे पुलको जिल्ला भनेर पनि चिनिन्छ । गौचनले मुस्ताङको सातसय थाक गाउँका थकालीहरूको भाषा, संस्कृति, परम्परा, व्यापार, ढिकुरी र जीवनशैली समेटेर अनुसन्धानमूलक पत्रिका ‘थाकसाङ’ प्रकाशनको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->