बागलुङ, १० मंसिर– नेपाली कांग्रेस बागलुङले पूर्वमन्त्री ओमकारप्रसाद गौचनको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । बुधवार बिहान आयोजित कार्यक्रममा सहभागिले गौचनले कांग्रेसको संगठन विस्तार र प्रजातन्त्रको संस्थागत विकासमा गरेको योगदान स्मरणीय भएको बताए ।
गौचनले लामो समयसम्म कांग्रेसको क्रियाशिल भएर काम गरेका थिए । उनको कामको मूल्यांकन र अनुसरण गरेमा कांग्रेसको राजनीति उचो हुने उनीहरुको कथन थियो । कार्यक्रममा कांग्रेसका पूर्व सभापति गोबिन्दप्रसाद शर्मा कंडेलले राजनीतिमा इमान्दारिता चाहिन्छ भन्दै गौचनमा उक्त इमान्दारीता रहेको बताए ।
गौचन परिवारले भारतमा भएको कांग्रेसको सम्मेलनका निर्णय गाउँगाउँमा लैजाने देखि चुनावका बेला गाउँ र वडा तहका समितिलाई क्रियाशिल बनाउन महत्वपूर्ण योगदान गरेको बताए । बीपी कोइराला पटकपटक आएर गौचनको घरमा बसेको इतिहास छ । कांग्रेसका उमेदवारलाई टिकट दिन पनि बीपीले गौचन परिवारलाई सोध्ने गरेको कारण उनीहरु इमान्दार छन् भन्ने देखिने कंडेलले बताए ।
कार्यक्रममा पूर्व सभापति हरिप्रसाद श्रेष्ठले कांग्रेसमा अहिले पनि इमान्दारिताको खाँचो भएको बताए । पंचायतबाट कांग्रेसमा आएरपनि गौचनले देखाएको इमान्दारिता अहिले पार्टीका कार्यकर्तामा देख्न नपाइने उनले बताए । कांग्रेस जिल्ला पार्टी सभापति दिपेन्द्रबहादुर थापाको अध्यक्षता, सचिव चित्रबहादुर कार्कीको संचालनमा सम्पन्न कार्यक्रममा पूर्व सांसद प्रकश शर्मा पौडेल, महाधिवेसन प्रतिनिधि जगन्नाथ आचार्यलगायतले बोलेका थिए ।
कार्यक्रममा सहभागीले हालै मात्र कांग्रेका पूर्व नेताहरु गोबिन्दलाल श्रेष्ठलगायतको निधनले अपुरणीय क्षति पुगेको पनि बताएका थिए । साथै सहभागिले पुराना नेताले झै त्याग गर्न नसकेको, पदमा बढी लोभी भएको पनि टिप्पणी गरेका थिए ।





