बागलुङ, ११ मंसिर– बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँमा समुदायले सञ्चालन गरेको भीमसेन क्याम्पसमा पक्कि भवन निर्माणको काम सुरु भएको छ ।
त्रिभुवन विश्वविद्यालय, अनुदान आयोगको ५० लाख रुपैयाँ र काठेखोला गाउँपालिकाको १५ लाख रुपैयाँ अनुदानमा चार कोठे पक्कि भवन निर्माणको काम थालिएको हो । भवन अभावनमा भीमसेन माविको भवन प्रयोग गरेर क्याम्पसको पठनपाठन हुँदै आएको थियो । पक्कि भवन बनेपछि आफ्नै भवनबाट अध्ययन अध्यापनका कार्यक्रम सञ्चालन हुने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जब्बर बहादुर लामिछानेले बताए ।
बुधबार क्याम्पस भवनको शिलन्याश गरिएको छ । क्याम्पस सञ्चालनका लागि सबैभन्दा धेरै चन्दा सहयोग गरेका दाता र भवन निर्माणका लागि जग्गा उपलव्ध गराएका दाताहरुले क्याम्पस भवनको शिलन्याश गरे ।
चन्दादाता सालिग्राम कँडेलले गाउँमै रहेको क्याम्पसका लागि सुविधासम्पन्न भवनको शिलन्याश गर्न पाउँदा खुसी लागेको बताए । जग्गादाता गुमा कार्कीले शिक्षा क्षेत्रको उन्नयनका लागि सबैले त्याग र योगदान गर्नुपर्ने बताईन् ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जब्बर बहादुर लामिछाने, उपाध्यक्ष डिल बहादुर कार्कीलगायतले सहयोग गर्ने सबैलाई धन्यवाद दिए । ९६ लाख लागत स्टमेट गरिएको भवनका लागि अपुग रकम जुटाउन व्यवस्थापन समितिले नयाँ अभियान चलाउने जनाएको छ । उपभोक्ता समिति मातहत निर्माण हुने भवन आगामी असार मसान्त सम्ममा निर्माण सम्पन्न हुनेछ ।





