बागलुङ, १३ मंसिर– जिल्लाको जैमिनी नगरपालिकाका एक कर्मचारीसहित बागलुङका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जैमिनी नगरपालिकाका २७ वर्षिय एक जना पुरुष कर्मचारी र काठेखोला गाउँपालिका वडा नं. ६ का १३ वर्षिय एक जना पुरुष र वडा नं. ८ का ५२ वर्षिया एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।
क्षयरोग उपचार केन्द्र पोखरामा उनीहरुको परीक्षण भएको थियो । काठेखोला गाउँपालिकाका दुई जना संक्रमित कन्ट्याक टे«सिङमार्फत पुष्टि भएका हुन् । यससँगै बागलुङमा कोरोना संक्रमितको संख्या ८ सय ३९ पुगेको छ । संक्रमितमध्ये ८ जनाको मृत्यु भएको छभने ७ सय ४२ जना निको भएका छन् ।
बागलुङमा सक्रिय संक्रमितको संख्या ८९ रहेको छ । यसअघि शनिबारै बागलुङ नगरपालिका वडा नं. ८ का १४ वर्षिय पुरुष, काठेखोला गाउँपालिका वडा नं. ६ का १३ वर्षिय पुरुष र वडा नं. ८ का ५२ वर्षिया महिलामा संक्रमण पुष्टि भएको थियो ।
यसैबीच, कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जैमिनी नगरपालिकाले चार दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने तयारी थालेको छ ।
कन्ट्याक ट्रेसिङ र संक्रमण थप फैलिन नदिन चार दिन कार्यपालिकाको कार्यालयका सेवा बन्द गर्ने तयारी भैरहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोईरालाले बताए । अत्यावश्यक सेवा भने सञ्चालनमा रहने छन् ।





