बागलुङ, १४ मंसिर– राष्ट्रिय जनामोर्चाले कोभिड–१९ को रोकथाम तथा व्यवस्थापनमा तीनै तहका सरकार असक्षम भएको आरोप लगाएको छ ।
आईतवार बागलुङका दशवटै स्थानीय तहका केन्द्रहरुमा विरोध सभा गरेर राजमोले सरकारले महामारीको समयमा समेत भ्रष्टाचारलाई मलजल गरेको आरोप लगाएको हो ।
राजमोको केन्द्रिय कार्यक्रमअन्र्तगत आईतबार बागलुङका दशवटै पालिका केन्द्रमा गरिएका विरोध सभामा केन्द्र तथा जिल्ला तहका नेताहरुले सम्बोधन गरेका थिए ।
कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा सरकारको असक्षमता तथा लापरवाही र भ्रष्टाचारको विरोध गर्ने भन्दै बागलुङ बजारमा आयोजना गरिएको सभालाई राजमो केन्द्रिय सदस्य कृष्ण थापाले सम्बोधन गर्दै तीन तहका सरकारका बिचमा समन्वय नरहेको भन्दै भ्रष्टाचारको नियन्त्रण र कोभिड–१९ को व्यवस्थापनमा सरकारहरु चुकेको आरोप लगाए ।
‘सत्तामा रहेको पार्टीभित्र लभ लेटर आदानप्रदान चलिरहेको छ, देश संकटमा रहेको बेला लापरवाही भैरहेको छ’ थापाले भने ‘यो दुई तिहाईको सरकारको असक्षमता हो ।’ तीन तहबी समन्वयको अभावले देशमा संघीयता आवश्यक नरहेको पुष्टि भैरहेको उनले दाबी गरे ।
सत्तामा रहेकाहरु भ्रष्टाचारमा लिप्त भएका कारण कोरोना महामारीको समयमा नागरिकले राहत पाउनेगरी काम नभएको उनले दाबी गरे । गण्डकी प्रदेशसभा सदस्य तथा प्रदेश मामिला सभापति समेत रहेका थापाले प्रदेश सरकार आन्तरिक खिचातानिमा अल्झिएको आरोपसमेत लगाए ।
गलकोट नगरपालिकाको मुकाम हटिया बजारमा भएको बिरोध सभालाई राजमो केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले सम्बोधन गर्दै अहिलेको सरकारले कोरोना महामारीको पार लगाउन नसक्ने दाबी गरे । जैमिनी नगरपालिकाको कुश्मीशेरा बजारमा भएको सभालाई जिल्ला अध्यक्ष अमर थापाले सम्बोधन गर्दै सरकार नागरिक प्रति जिम्मेबार नरहेको जिकिर गरे ।
ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा नेता तिलक थापा, झिँवाखोला बजारमा पार्टी सचिव भिमलाल पोखरेल, बरेङ बजारमा पियारी थापा, ग्वालीचौरमा धर्म कुँवर, बोङ्गादोभानमा गौरीश्वर पाण्डे, अक्षेतेमा नेत्र बुढाथोकी र ताराखोलामा तिर्थसिंह थापाले सम्बोधन गरेका थिए ।
बागलुङ बजारमा भएको कार्यक्रममा बोल्दै नगर कमिटिका अध्यक्ष थानेश्वर सुवेदीले पहिलेको कांग्रेसको सरकार भन्दा नेकपा नेर्ततवको दुई तिहाईको सरकार जनताका माझमा गिरेको आरोप लगाए । कार्यक्रम योगेन्द्र पौडेलले सञ्चालन गरेका थिए ।





