सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बागलुङका ६० साझेदारीका योजनामध्ये ३४ सडकका !

बागलुङका ६० साझेदारीका योजनामध्ये ३४ सडकका !


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०७७, सोमबार

बागलुङ, १५ मंसिर– स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्र्तगत बागलुङका दुई निर्वाचन क्षेत्रका ६० योजनामा बजेट विनियोजन भएको छ ।
जिल्लाका दशवटै स्थानीय तहमा सडक, खानेपानी, कृषि, पर्यटन र खेलकुदलगायतका योजनामा बजेट विनियोजन भएको हो । विनियोजित योजनामध्ये अधिकांश सडकका योजना रहेका छन् ।
स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्र्तगत प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा समानुपातिक सांसद, सम्बन्धित पालिकाका प्रमुख तथा उपप्रभुख, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख समेतको बैठकले योजना बाँडफाँड गरेको हो । कार्यक्रमअन्र्तगतको ८ करोड बजेटमा यहाँका स्थानीय तहले केही साझेदारी गर्नेछन् ।
विगतका वर्षहरुमा टुक्रे बजेटले उपलव्धी हासिल नहुने भन्दै चार वटा पालिकामा एकमुष्ट बजेटका योजना बनाएको क्षेत्र नं. १ ले यो वर्ष टुक्रे योजनामै बजेट बाँडेको छ । बागलुङ निर्वाचन क्षेत्र नं. १ अन्र्तगत बागलुङ नगरपालिकामा ११ वटा योजनामा बजेट विनियोजन भएको छ । ११ योजनामध्ये धौलागिरी बहुमुखी क्याम्पसमा ई–लाईब्रेरी, वडा नं. १२ मा मदरसा भवन निर्माण र वडा नं. ३ मा शहिद पार्क निर्माणको योजना छभने बाँकी सबै सडक स्तरोन्नतीका योजना छन् ।
जिल्लाको जैमिनी नगरपालिकामा ६ वटा योजनामा बजेट विनियोजन भएको छ । दुर्लिबेशी खेलकुद मैदान र बोर जैदी खेलकुद मैदानबाहेक जैमिनीमा पनि बाँकी योजना सडक स्तरोन्नतीका छन् ।
काठेखोला गाउँपालिकामा ९ वटा योजनामा बजेट विनियोजन भएको छ । जसमध्ये दुग्ध उत्पादन संकलन केन्द्र, शित भण्डार निर्माण, मदन स्मृति पार्क निर्माण, भीमसेन क्याम्पसको भवन निर्माण र केही सडकको स्तरोन्नतीका योजना रहेका छन् ।
बरेङ गाउँपालिकामा चारवटा मात्रै योजनामा बजेट विनियोजन भएको छ । बरेङमा तीन सडक र एक आमा समुहको भवन निर्माणको योजना छ । क्षेत्र नं. १ मा पर्ने स्थानीय तहको साझेदारीमा विविधता छ । बागलुङ नगरपालिकाले ६०, काठेखोलाले १०, जैमिनीले २० र बरेङ गाउँपालिकाले ३० प्रतिशत साझेदारी गर्ने जनाएका छन् ।
निर्वाचन क्षेत्र नं. २ अन्र्तगत पर्ने ६ वटा स्थानीय तहमा ३० योजनामा बजेट विनियोजन भएको छ । ताराखोला गाउँपालिकाले उपलव्धी देखिने गरि एउटा मात्रै योजनामा स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्र्तगतको बजेट उपयोग गर्ने भएको छ ।
ताराखोलामा सांस्कृतिक संग्राहलय निर्माणका लागि कार्यक्रमअन्र्तगत ५४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । गाउँपालिकाले अपुग रकम साझेदारी गर्नेछ । गलकोट नगरपालिकामा १० वटा योजना छनौट भएका छन् । अधिकांश सडक स्तरोन्नतीका योजना छन् ।
यस्तै, बडिगाड गाउँपालिकामा ९ वटा योजनामा बजेट बिनियोजन भएको छ । वडिगाडमा विद्यालय भवनदेखि खरको छाना विस्थापन कार्यक्रम प्राथमिकतामा परेका छन् । ढोरपाटन नगरपालिकामा चार वटा मात्रै योजनामा बजेट विनियोजन भएको छ । विद्युत गृह मर्मत, सडक र खानेपानीका योजना प्राथमिकतामा परेका छन् । तमानखोला गाउँपालिकामा दुई योजनामा बजेट विनियोजन भएको छ । दुई योजनानै सडकका छन् ।
निसीखोला गाउँपालिकामा पहिरो रोकथाम, विद्यालय भवन मर्मत र सडक स्तरोन्नतीका लागि बजेट विनियोजन भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्र्तगत निसीखोलामा चार योजनामा बजेट विनियोजन भएको छ ।
‘जनताका आवश्यकताको विषयमा छलफल गरेर बजेट बाँडेका छौं’ प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले भने ‘विगतका वर्षहरुमा जस्तो यो वर्ष ठुला योजनामा मात्रै बजेट बाँडेर जान सकिएन् जनताका गुनासा धेरै आए ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->