बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

केन्द्रिय शक्ति प्रयोग गरेर रामचन्द्र पौडेलले गरे पुल उद्घाटन

केन्द्रिय शक्ति प्रयोग गरेर रामचन्द्र पौडेलले गरे पुल उद्घाटन


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०७७, बिहिबार

पोखरा, १९ मंसिर – केन्द्रिय शक्ति प्रयोग गरेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको बुल्दीखोला पुल उद्घाटन गरेका छन् । कांग्रेसले पौडेलसहित केन्द्रीय तहका नेताहरु उतारेर बिहीबार उद्घाटन गरेको हो । कांग्रेसले आज जिल्लाभरका नेता कार्यकर्तालाई पुल उद्घाटन क्षेत्रमा उतारेको छ । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदीप पौडेललगायत पनि तनहुँ पुगेका छन् । पुल उद्घाटन अघि जिल्ला पार्टी कार्यालय दमौलीबाट जुलुस निकालिएको थियो ।
बुधबार नेकपाका कार्यकर्ताले अवरोध गरेसँगै रोकिएको पुल उद्घाटन आज पौडेलले नै रिबन काटेर गरेका हुन् । तनहुँ व्यास नगरपालिका १, १० र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल बुधबार उद्घाटन गर्ने तय भएको थियो । सत्तारूढ दल नेकपाका कार्यकर्ताले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रशासनले निषेधाज्ञासमेत जारी गरेको थियो ।
निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पौडेललाई हिजो तीन घण्टा तनहुँ प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।
दुई करोड ५४ लाख रुपैयाँ लागतमा गत साल पुल निर्माण सकिएको छ। उद्घाटन गर्न बोलाउने व्यक्तिका विषयमा विवाद भएपछि नेकपा कार्यकर्ता विरोधमा उत्रिएका थिए । वरिष्ठ नेता पौडेल र संघीय सांसद किसान श्रेष्ठ बीचको टकरावले पुल उद्घाटनको विषयमा विवाद बढेको हो । पुल उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीलगायत सांसदहरुको पनि सहभागिता छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->