तनहुँ, १८ मंसिर– व्यास नगरपालिका–१, १० र ११ लाई जोड्ने बुल्दी खोला माथी दुई बर्ष अगावै निर्माण सम्पन्न भएको पक्की मोटरेबल पुल उद्घाटनको बिषयलाई लिएर बुधबार दिनभर तनहुँको सदरमुकाम दमौली तनावग्रस्त बन्यो । पुल उद्घाटन गर्न पुगेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रोक्यो र ४ घण्टा सम्म नियन्त्रणमा लिएर छाड्यो । यो घटनाले देशैभर राजनितिक तंरग पैदा गरायो पनि । बरिष्ठ नेता पौडेल प्रकाउ घटनाको बिरोध गर्दै कांग्रेस समर्थक संघ संगठनले बुधबार साँझ र विहीबार दिनभर मुलुकका विभिन्न जिल्लामा बिरोध प्रर्दशन समेत गरे ।
सत्तारुढ दल नेकपा समर्थकको रामचन्द्र पौडेललाई हराएर संघिय सांसद बनेका कृष्णकुमार श्रेष्ठ किसानले उद्घाटन गर्नुपर्ने चाहाना । कांग्रेस समर्थकले रामचन्द्रको बाहुलीबाट जबरजस्त उद्घाटन गराउन खोज्दा बुधबार हुन सकेन । तर, विहीबार दिउँसो भने नेपाली कांग्रेसले शक्ति प्रर्दशन गर्दै नेता पौडेलको बाहुलीबाट उद्घाटन गरिएको छ ।
पुल उद्घाटनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले बुधबारको घटना सम्झदै भने, ‘देशमा लोकतन्त्र आए पनि प्रहरीको दमन विद्यमान छ । जनताले चाहेको जस्तै लोकतन्त्रका लागि फेरी पटक फेरि संघर्ष गर्नुपर्ने अवस्था आएको छ ।’ प्रहरीले आफ्नो कोखामा डण्डाले पेलेका कारण दुख्दै गएको उनले सुनाए ।
केही नेताहरुले राज्यकोषको ढुकुटी दुरुपयोग गरेर जनता झुक्याउने काम गरेको उनको आरोप छ । विकास निर्माणको काममा अनावश्यक राजनीति भएको भन्दै पौडेलले विकासमा प्रतिस्पर्धा गर्न आग्रह गरे । उनले दाबी गर्दै अगाडी थपे, ‘विकास निर्माणमा कांग्रेस सत्तामा नभएपनि प्रतिबद्ध छ ।’
प्रशासनले पुल उद्घाटन गर्न नदिएपनि शक्ति प्रर्दशन गरेर जसै उद्घाटन गरिछाड्ने दाउमा तनहुँका गाउँगाउँबाट कांग्रेसका हजारौँ नेता कार्यकर्ता दमौलीमा ओर्लिएका थिए । पौडेललाई पुल उद्घाटनमा साथ दिनलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी, प्रदिप पौडेल, गोबिन्द भट्टराई लगायतका नेता समेत विहीबार तनहुँ आएका थिए । कांगेसका नेताहरुले सरकारले पौडेललाई पक्राउ गरेर सुतेको कांग्रेसलाई ब्युँझाउने काम गरेको बताए । सरकारले अधिनायकवादी शैली देखाइरहेको र स्थानीय प्रशासन, प्रहरीले पनि सघाएको आरोप उनीहरुको थियो ।
तत्कालीन जिल्ला बिकास समितिको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण (एसएनआरटिपी) परियोजनाअन्र्तगत निर्माण गरिएको बुल्दी खोलाको पुल २०७३ वैशाखमा सुरु भएर २०७५ कार्तिकमा सम्पन्न भएको थियो । २ करोड ५४ लाख रुपैयाँमा २ बर्ष अगावै निर्माण सम्पन्न भएको पुलको अन्य संरचनाको काम नहुदाँ उद्घाटन हुन सकेको थिएन् ।
पुर्वाधार बिकास कार्यलयमार्फत बनेको पुल उद्घाटन हुन लागेको भन्दै कार्यलयले पुल उद्घाटनको कार्यक्रम स्थगन गराउन जिल्ला प्रशासनलाई अनुरोध गरेको थियो । प्रशासन कार्यलयले पनि बुधबार पुल उद्घाटन नगर्न पत्राचार गरेको थियो ।





