
तनहुँ, २० मंसिर– व्यास नगरपालिका–१, १० र ११ लाई जोड्ने तालघरे दुम्सीचौर सडक अन्तर्गत बुल्दीखोलामा एउटा सानो पुल छ । पुल भन्नु पनि के हो र ? झण्डै नालीको कल्भर्ट जस्तो ! अभियन्ता विश्व सिग्देलको शब्द सापटलिने हो भने, त्यो पुल दमौलीको एउटा सामान्य व्यापारीले पनि बनाइदिन सक्छ । हो, त्यही मोटरेबल पुलको बिहीबार दिउँसो नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरे । प्रशासनले जारी गरेको निषधाज्ञा तोड्दै बुधबार पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर केही घण्टामा छाड्यो । सोही दिन नेकपा समर्थकले पौडेलले उद्घाटन गर्न नमिल्ने भन्दै सदरमुकाम दमौलीमा बिरोध प्रदर्शन गरेका थिए ।
प्रशासनले रोकेपछि बुधबार पौडेलको बाहुलीबाट उद्घाटन गर्न नपाएपछि नेपाली कांग्रेसले हजारौ नेता कार्यकर्तासंगै केन्द्रिय सदस्य दमौलीमा उतारेर शक्ति प्रदर्शन गर्दै उद्घाटन गरी छाड्यो । दुईवर्ष अगावै निर्मित पुल उद्घाटन गरेर जस लिनलाई भएको तछाड मछाडले नेपाली राजनीतिलाई नै तंरगित बनायो ।
पुल उद्घाटन भएपछि बुल्दीखोला पुलको विवाद सेलायो कि भनेर सर्वसाधरणले साोच्न भ्याए होलान् । तर, सत्तापक्ष र प्रतिपक्ष दलबीचको उक्त विवाद झनै बढ्दै गएको छ । बिहीबार साँझ नेकपाका स्थायीकमिटी सदस्यसमेत रहेका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पुलनिर्माणको विवरण सहितको प्रेस विज्ञप्ती जारी गर्दै सरकार सम्बन्धित कार्यालयसँग समन्वय नगरिक नपार्टीको दलबल सहित कथित उपभोक्ता समितिको आयोजनामा अनाधिकृत तवरले पुल उद्घाटन गरिनु हास्यस्पद र लज्जास्पद भएको उल्लेख गरे । पुल उद्घाटन लाई राजनीतिक प्रतिष्ठा बनाउनु तनहुँका सिङ्गो नेपाली कांग्रेस र नेता कार्यकर्तामा पलाएको हिन ग्रन्थीले उत्पन्न बहुलठ्ठी पुर्ण क्रियाकलाप भएको आरोप लगाए ।
यतिमा मात्र पुल उद्घाटनको विवाद सेलाएन । शुक्रबार दिउँसो प्रतिनिधिसभामा निर्वाचित भएका तनहुँका सांसदद्धय किसान श्रेष्ठ र केदार सिग्देल, समानुपातिक कोटामा प्रतिनिधिसभा सांसद बनेकी कलिला खानसँगै राष्ट्रियसभा सदस्यमा निर्वाचित भगवती न्यौपाने र गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले ‘तनहुँमा उत्पन्न समसामयिक परिस्थिति र क्षेत्राधिकारका सवालमा’ पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेस नेता पौडेलले बुल्दीखोला पुल उद्घाटन गरेको बिरोधमा गर्जिए । बिहीबार पुल उद्घाटन कार्यक्रम सम्बोधनको क्रममा कांग्रेसका नेताले उठाएको एक–एक प्रश्नको प्रतिउत्तर पनि फर्काए ।
रामचन्द्र लाई चुनावमा हराएर तनहुँ क्षेत्र नम्बर १ बाट सांसद बनेका किसान श्रेष्ठले जसको सरकार छ उसैले उद्घाटन गर्न पाउनुपर्ने दाबी गरे । ‘यदि उद्घाटन गर्ने रहर भए हामीलाई भन्नुस् । रामचन्द्र पौडेल जी मात्रै हैन् जो कोही आउनुस्, हामी तयार छौँ । उहाँलाई अगाडी लाएर, उहाँको हातबाट रिवन काटेर उद्घाटन गर्न दिन्छौँ । यस्ता दर्जनौ पुल हामी बनाई दिन्छौँ’, उनले भने ।
नेकपाको कारण नभई कांग्रेसको कारण तनहुँको इज्जत गुम्दै गएको उनको आरोपछ । उनले अगाडी थपे, ‘हामी त नमूना तनहुँ बनाउन लागि परेकाछौँ ।’ बुधबारको घटनामा आफुलाई जोडेर बद्नाम गर्न खोजिएको उनको भनाई छ । निषेधाज्ञा गर्न सक्ने भए भोलिपल्ट पनि जारी गर्ने उनले बताए । श्रेष्ठले कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफूलाई दलाली हो भन्दै केपी ओलीले सम्पत्ती शुद्धीकरणको बागडोर नसम्हालेको भए कानूनी कठघरमा आउँछ भनेकोमा आपत्ति जनाउदै आफु व्यापारीक पृष्ठ भूमि भएको तर राजनी तिमात्रै गरेका प्रदीपको सम्पत्ति छानविन गर्नुपर्ने टिप्पणी गरे । झुट्टा कुरा गर्दै जनतामा अफवाह फैलाउने काम बन्दगर्न श्रेष्ठको कांग्रेसका नेताहरुलाई सुझाव थियो ।
तनहुँ क्षेत्र नम्बर २ का सांसद तथा नेकपा तनहुँका अध्यक्ष केदार सिग्देलले निर्वाचित जनप्रतिनिधिलाई थाहै नदिइ निर्वाचनमा पराजित भएकाले विकासे आयोजनाको उद्घाटन गर्दै हिँड्दा लोकतन्त्रको खिल्ली उडेको बताए । पुल उद्घाटनमा विवाद भएपछि सम्भावित दुर्घटना हुननदिन प्रशासनले निषेधाज्ञा जारी गर्नु जायज भएको उनको भनाई छ । सिग्देलले व्यास नगरपालिका मार्फत् भएका विकास योजनाको विपक्षी पार्टीका नेताले आफूखुशी उद्घाटन र शिलान्यास गर्दै हिँडे के हुन्छ भनेर प्रश्न गरे ।
उद्घाटनको बेला चर्चित बनेको बुल्दीखोला पुल तत्कालीन जिल्ला विकास समितिको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण (एसएन आरटिपी) परियोजना अन्र्तगत निर्माण भएको हो । यो पुलको २०७३ वैशाखमा निर्माण भएर २०७५ कार्तिकमा सम्पन्न गरिएको थियो । २ करोड ५४ लाख रुपैयाँमा २ बर्ष अगावै निर्माण सम्पन्न भएता पनि पुलको उद्घाटन भएको थिएन् ।





