पर्वत, २१ मंसिर – गण्डकी प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा थप चार जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा मृत्यु भएकाहरूको संख्या एक सय ७० पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार मृत्यु भएकाहरूमा कास्कीको पोखरा महानगरपालिका–१७ की ६६ वर्षीया महिला रहेकी छिन् । उनको आइतबार बिहान करिब साढे पाँच बजे उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । मङ्सिर १५ गते सङ्क्रमणको पुष्टि भएकी ती महिलामा श्वासप्रश्वास सम्बन्धी समस्या रहेको थियो ।
यसैगरी, लमजुङको बेशीशहर नगरपालिका–११ की ४३ वर्षीया महिलाको पनि मृत्यु भएको छ । उनको पनि उपचारको क्रममा शनिवार बिहान करिब साढे पाँच बजेको समयमा मणिपाल शिक्षण अस्पतालमा नै मृत्यु भएको हो । ती महिलामा मङ्सिर नौ गते सङ्क्रमणको पुष्टि भएको थियो भने उनमा मधुमेह रोग पनि रहेको थियो ।
यसैगरी चरक मेमोरियल अस्पताल पोखरामा कास्कीको पोखरा महानगरपालिका–१७ का ३४ वर्षीय पुरुषको मृत्यु भएको छ। मिर्गौला रोग र उच्च रक्तचापबाट ग्रसित उनको शनिवार मृत्यु भएको हो । उनमा मङ्सिर सात गते सङ्क्रमणको पुष्टि भएको थियो ।
पछिल्लो पटक पोखरा महानगरपालिका–१ का ७५ वर्षीय पुरुषको मृत्यु भएको छ । मङ्सिर १५ गते सङ्क्रमणको पुष्टि भएका ती पुरुषको आइतबार बिहान पौने ११ बजे उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो। उनमा निमोनिया र मिर्गौलाको समस्या रहेको थियो ।





