बागलुङ, २३ मंसिर– विद्यार्थी नेता सागर परियारको विवाह उत्सवमा कांग्रेस महामन्त्री डा. शसांक कोइराला हेलिकोप्टर चढेर बागलुङ आएका छन् ।
बानपा १४ स्थित नारायणस्थानमा रहेको परियारको घरमा भएको विवाह भोजका लागि कोइरालासहित कांग्रेसका केन्द्रीय नेताहरु हेलिकोप्टरमा आएका हुन् ।
कोइरालासहित नेताहरु डा. मिनेन्द्र रिजाल, दीपक गिरी, बद्री पाण्डे, गुरु घिमिरेलगायतका नेताहरु मंगलबार आएका थिए । विवाह उत्सवमा व्यवसायी दक्ष पौडेल पनि सँगै आएका थिए । पौडेलको साथमा आएकोले नेताहरुको खर्च पनि उनैले व्यहोरेको हुनसक्ने स्थानीय नेताहरुले बताए । उनीहरु प्रभु एयरलाइन्सको हेलिकोप्टरबाट दुइ खेपमा नारायणस्थान झरेका थिए ।
विवाह उत्सवमा उपस्थित भएर परियारलाई नेताहरुले आर्शिवाद दिएको नेविसंघका निर्वतमान सहमहामन्त्री हरिहर शर्माले बताए । परियार पनि नेविसंघको निवर्तमान केन्द्रीय उपाध्यक्ष हुन् । उनको गलकोटस्थित लक्ष्मी परियारसँग विवाह भएको थियो ।
विवाहका लागि केन्द्रीय सदस्य जीवन परियार भने सोमबारै बागलुङ आएका थिए । महामन्त्री कोइरालासहितका नेता आउने भएपछि केन्द्रीय सदस्य अर्जुन जोशीसहित पर्वतका र बागलुङका अधिकांस नेता कार्यकर्ता परियारको घरमा भीड लागेका थिए ।





