बागलुङ, २४ मंसिर– नेपाली कांग्रेसले मंसिर २९ गते जिल्लाव्यापी विरोध प्रर्दशन गर्ने भएको छ । पार्टीले देशैभर सरकारको विरोध गर्ने कार्यक्रम तय गरे अनुसार बागलुङका चार खण्ड विभाजन गरेर विरोधका कार्यक्रम तय गरेको हो ।
बुधबार पत्रकार सम्मेलन गरेर कांग्रेस जिल्ला सभापति दिपेन्द्रबहादुर थापाले शान्तिपूर्ण विरोध कार्यक्रम सम्पन्न गर्ने बताए । थापाले नेकपाको बहुमतको सरकार पाँचै वर्ष निर्वाध रुपमा टिकोस् भन्ने चाहनाका कारण विरोध नगरेकोमा प्रतिपक्षको कमजोरीको रुपमा बुझिएको टिप्पणीसमेत गरे ।
‘हामीले सरकार नेकपाले चलाओस्, पार्टी नफुटोस् भनेर कामना गरेका छौं, तर उनीहरुनै विरोध गर्न बाध्य पार्ने अवस्थामा पु¥याए’ थापाले भने, ‘गणतन्त्र र लोकतन्त्र अफाप भयो भन्ने सन्देश नजाओस् भनेर सहनशिलता प्रर्दशन गरेका हौं ।’
पत्रकार सम्मेलनमा थापाले राजावादी सलबलाउनुमा सरकारको भ्रष्टाचार, अर्कमण्यताजस्ता विषय भएको पनि बताए । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई गरिएको अभद्र व्यवहारबाट कांग्रेसले आन्दोलनको कार्यक्रम तय गर्न बाध्य भएको उनले टिप्पणी गरे ।
कांग्रेसले बागलुङ नगर आसपास क्षेत्रको संयोजनको जिम्मा संविधानसभा सदस्य तथा निर्वतमान सभापति प्रकाश पौडेल, जैमिनी क्षेत्रको जगदिशचन्द्र उपाध्याय, काठेखोलाको होमबहादुर हमाल र गलकोट क्षेत्रको संयोजनका लागि गण्डकी प्रदेशका सचेतक मणीभद्र शर्मालाई जिम्मा दिएको छ । उनीहरुको नेतृत्वमा कम्तीमा २ हजारदेखि ३ हजार कार्यकर्तासहितको विरोध कार्यक्रम गर्ने थापाले सुनाए ।
कार्यक्रम सभापति थापाको अध्यक्षता, सचिव नवराज पौडेलको संचालन र महाधिवेसन प्रतिनिधि जगन्नाथ आचार्यको स्वागतमा सम्पन्न भएको थियो ।





