नवलपुर, २७ मंसिर– नवलपुरमा प्रशासनले क्रसर तथा बालुवा प्रशोधन उद्योगको अनुगमनलाई तिब्रता दिदै कारवाहीको प्रक्रिया थालेको छ । अनुगमनका क्रममा जिल्लामा सञ्चालित रित नपुर्याई सञ्चालनमा रहेका उद्योगलाई जिल्ला प्रशासनले “अन द स्पर्ट एक्सन”का रुपमा तत्कालै शिल गरेको हो । एक महिना अगाडीदेखि जिल्लाभित्र सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगको अनुगमन र निरिक्षण गरेकोे जिल्ला प्रशासन कार्यालय नवलपुरले अहिलेसम्म १४ वटा उद्योगमा शिल गरेको छ । प्रशासनले अहिले नवलपुरमा क्रसर तथा प्रशोधन उद्योग मापदण्डभित्र रहे नरहेको भन्दा पनि दर्ता भए नभएको आधारमा कारवाही चलाएको छ । बर्तमान मापदण्ड पुरा भए नभएको हेर्ने हो भने देशैभरका अधिकांश उद्योगको मापदण्ड नपुग्ने देखिएपछि यो बिषय संघीय सरकारमै बिचाराधिन अवस्थामा रहेकाले अनुगमनको निर्देशिका क्षेत्राधिकारभित्र रहेर कार्य गरिएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको भनाई छ ।





