बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नवलपुरमा नक्कली चुक बनाउने धन्दा, दुई उद्योग उपर मुद्धा

नवलपुरमा नक्कली चुक बनाउने धन्दा, दुई उद्योग उपर मुद्धा

बाटोमा हिँडाइ राखेको अबैध चुक बरामद, पाँच लाख मुल्यपर्ने अबैध चुक नष्ट गरियो ।


  • खगेन्द्र पराजुली
  • मंसिर २८ २०७७, आइतबार

नवलपुर, २८ मंसिर– नवलपुर जिल्ला अदालतमा दुई खाद्य उद्योग उपर मुदा दर्ता भएको छ । दुषित एवं न्यून स्तरको खाद्य बस्तु उत्पादन, संचय तथा बिक्री बितरण गरेका दुई वटा खाद्य पदार्थ उत्पादक उपर अदालतमा मुद्धा दर्ता भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले जनाएको छ ।
कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिमलकुमार दाहालका अनुसार नवलपुरको गैंडाकोट ४ मा रहेको माउण्ट एभरेष्ट पिउने पानी उद्योग र चितवनको भरतपुर महानगरपालिका वडा नं. १ मा रहेको कुँवर एण्ड ब्रदर्श ग्रुपको भेजिटेवल सस उत्पादक उपर मुद्धा दर्ता भएको हो ।
बरिष्ठ खाद्य अनुसन्धान अधिकृत दाहालका अनुसार कार्यालयले गर्नुपर्ने सबै अनुसन्धान पुरा गरी खाद्य ऐन २०२३ को दफा ३ बमोजिम मुद्धा दर्ता भएको हो । २०७५ साल असार २१ ग्ते भरतपुर १२ को एक पसलबाट नमूना संकलन गरी हेटौंडा प्रयोगशालामा भएको परिक्षणमा अक्वा हेल्थ केयर ब्राण्डको प्रति एमएल पानीमा हानिकारक सुक्ष्म जीव “यीष्ट–मोल्ड” को मात्रा २८ रहेको पुष्टि भएको जनाईएको छ । वहाँका अनुसार यीष्ट मोल्डको मात्रा पानीमा शून्य हुनुपर्नेहुन्छ ।
यस्तै, २०७५ साल पुस २५ गते कावासोती २ पञ्चकन्या चोकको एक पसलबाट नमूना संकलन भई परिक्षण भएको सफल ब्राण्डको भेजिटेबल ससमा कुल घुलनशील ठोस पदार्थ १५ प्रतिसत हुनुपर्नेमा ४.०८ प्रतिसत मात्र भएको जनाईएको छ ।
दुषित वा न्यून स्तरको खाद्य बस्तु उत्पादन संचय वा बिक्री बितरणका दोषीउपर खाद्य ऐन २०२३ को दफा ५ (१) अनुसार बढीमा ५० हजार रुपैंया जरिवाना वा ५ बर्ष कैद वा दुबै सजाय हुनसक्ने कानूनी प्रावधान छ ।
नक्कली चुक नष्ट
घरेलु तथा साना उद्योग कार्यालय नवलपुरले चुक जस्तो देखिने अमिलो खाद्य बस्तु नष्ट गरेको छ । गैंडाकोटको गोरखकालीका चुक उद्योगले उत्पादन गरि बिक्री बितरणका लागि लैँजादै गर्दा बरामद भएको १५ लिटर क्षमताको भाँडोमा रहेको ८४ ग्यालेन अमिलो खाद्य बस्तु नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपुरका कार्यालय प्रमुख बिक्रम सुबेदीले बताउनुभयो ।
बिक्रीका लागि दाङ लैजाने क्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरको प्रहरीको टोलीले चेकजाँचका क्रममा कावासोतीबाटै नियन्त्रणमा लिएको उक्त परिमाणको अमिलो बस्तु घरेलु कार्यालयको संयोजनमा खाद्य गुण तथा नियन्त्रण कार्यालय भैरहवामार्फत प्रयोगशालामा परिक्षण हुदा कागती तथा निवुवाजन्य चुक अमिलो नभएको पाईएपछि नष्ट गरिएको खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दाहालले बताउनुभयो ।
बरिष्ठ खाद्य अनुसन्धान अधिकृत दाहालका अनुसार कर्न–फ्लोर, साईट्रिक एसिड, सोडियम वेञ्जोएट, कृतिम रङ (चिनी डढाउँदा आउने रङ) र बास्ना मिलाएर बनाईएको उक्त अमिलो बस्तु कागती तथा निबुवाजस्ता अमिलोजन्य कृषि उत्पादनको कच्चा पदार्थबाट नवनेकोले “ढाँटी–छली उत्पादन र बिक्री” भएको हुँदा नष्ट गरिएको हो ।
घरेलुका कार्यालय प्रमुख सुबेदीले उद्योगको निरिक्षण गर्दा चुक बनाउँदा प्रयोग हुने कुनै पनि मेसिन तथा परम्परागत औजार (पकाउने भाँडा, कोल) समेत नरहेको कागती तथा निबुवाजस्ता अमिलो बस्तु नभएको तर कागती तथा निबुवाको अर्गानिक चुक उत्पादन गर्ने उद्योगमा अन्य बस्तुहरु भेटिएको बताउनुभयो ।
त्यस्तै, घरेलु तथा साना उद्योग नवलपुरमा उद्योग दर्ता भएपनि लिनैपर्ने खाद्य तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञापत्र नलिएको, उत्पादित बस्तुमा लेवलिङ् नरहेको जनाईएको छ ।
उद्योगलाई आवश्यक कारवाहीका लागि प्रदेश कार्यालयमा पत्राचार गरिसकिएको जनाइएको छ । नष्ट गरिएको नक्कली चुक अमिलो बजार मूल्यअनुसार रु पाँच लाखभन्दा बढीको छ ।
बरामद सामग्री जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, पत्रकार, अंकुर आदर्श सामुदायिक बनका प्रतिनिधी लगायतको रोहवरमा अंकुर सामुदायिक बन क्षेत्रमा खाडलभित्र पुरेर नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->