काठमाडौं, १० पुस – मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपाका नेता प्रभु साहले विघटनको निर्णय आत्मघाती हुने टिप्पणी गरेका थिए । प्रतिनिधि सभा विघटनको निर्णयलाई सोमबार आत्मघाती ठहर गरेका साह त्यसको पाँच दिनपछि मन्त्री बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा नगएका साहको नाम अकस्मात मन्त्री बनेका छन्।
पार्टीका दुई समूहका छुट्टाछुट्टै भएका भेलामा साह प्रचण्ड-माधव नेकपाको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिए। उक्त बैठकले अध्यक्षमा माधव नेपाललाई चयन गरेको थियो। साहले माधवलाई अध्यक्ष बनाउने प्रस्तावप्रति आपत्ति जनाएका थिए। पार्टी एकीकरणपछि प्रदेश-२ मा माधवपक्षसँग उनको विवाद थियो। माधवसँग सुमधुर सम्बन्ध नभएकै कारण साह प्रधानमन्त्री ओलीको गुटमा लागेको आंकलन गरिएको छ। दुई अध्यक्ष अस्वीकार गर्ने भन्दै उनले विज्ञप्तिसमेत निकालेका थिए।
संसद विघटन गरिसकेपछि उनी त्यसविरुद्ध लागेका थिए। मन्त्री पद प्राप्त गर्ने भएपछि पूर्वविचारलाई त्याग्दै साह ओली समूहमा लागेका छन्। ‘सहमतिमा अगाडि बढ्नुको सट्टा नेपालको संविधानको मूल मर्म र जनादेशविपरीत २ वर्ष कार्यकाल बाँकी रहँदारहँदै प्रतिनिधि सभा विघटनको निर्णय गर्नु आफैंमा आत्मघाती एवं आपत्तिजनक कार्य हो‚’ साहले सोमबार लेखेका थिए।

बादलले ओली रोजेपछि प्रदेशमा हारेका दावा बने मन्त्री
यसैविच, सिन्धुपाल्चोक प्रदेशसभामा पराजित भएका दावा लामा (तामाङ) दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् । लामा शुक्रबार बिहानै रामबहादुर थापा बादलको निवास पुगेका थिए। नेकपाका केन्द्रीय सदस्य रहेका दावाले बादललाई भेट गर्न केही पूर्व माओवादी नेतासमेत लिएर पुगेका थिए। केपी शर्मा ओली पक्षमा बिहीबार मात्रै खुलेका पूर्वमाओवादी नेता बादललाई भेटपछि दावाको नामका अघि मन्त्री पद थपिएको छ। दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् । संविधानसभाका सदस्य राजकुमार श्रेष्ठलगायत सिन्धुपाल्चोकका नेकपा नेताहरूसहित बादलसँग दावाले भेटघाट गरेका थिए। बादलसँग भेट गर्नुअघि दावा कुनै पनि पक्षमा खुलेका थिएनन्।प्रतिनिधिसभाका सांसद रहेका पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ प्रधानमन्त्री केपी शर्मा ओली पक्षको भेलामा पुगेका थिए। तर उनी माधव नेपाल–पुष्पकमल दाहाल पक्षमा आएका थिए।
तामाङ प्रचण्ड-नेपाल खेमामा फर्केपछि बादलसँग निकटता बढाउन पूर्वसांसद दावा पुगेका थिए। २०६४ साल पहिलो (संविधान सभा)मा सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट लामा सांसद निर्वाचन भएका थिए। २०७० साल मंसिर ४ मा भएको निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रमा पूर्व माओवादीवाट उम्मेदवार भएपनि पराजित भएका थिए।
पछिल्लो निर्वाचनमा उनी प्रतिनिधिसभामा टिकट पाउन सकेनन्। प्रतिनिधिसभा तर्फ शेरबहादुर तामाङले टिकट पाएपछि उनी प्रदेशमा परे। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को ‘ख’मा उनी प्रदेशसभाको उम्मेदवार भएका थिए। उनीसँग प्रतिस्पर्धी थिए नेपाली कांग्रेसका निमा लामा। राप्रपा र नेपाली कांग्रेस एउटै प्यानलमा थिए भने माओवादी र एमाले गठबन्धन बनाएर निर्वाचनमा लडेका थिए। मतगणनाको सुरुदेखि नै झिनो मतान्तरले अघि रहेका कांग्रेसका निमा लामाले अन्तिम समयसम्म पनि अग्रता कायम गर्दै १९७ मतको झिनो अन्तरले माओवादी केन्द्रका दावा तामाङलाई पराजित गरेका थिए।





