
बागलुङ, ११ पुस– दुइ वर्षअघिनै डिपिआर बनाएको बागलुङ रंगशालाको काम अझै सुरु भएको छैन । बागलुङ नगरपालिका वडा नं. १ को बाँङेचउर खेल मैदान र आसपासको जमिनमा रंगाशाला बनाउने योजनासहित बनेको डिपिआरमा काम थालनी नभएको हो ।
तत्कालिन जिल्ला खेलकुद विकास समितिको अगुवाईमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको बजेट परिचालन गरेर डिपिआर बनाइएको थियो । सुविधासम्पन्न रंगशाला, प्याराफिट, एथलेटिक्स र इन्डोर खेलका लागि बृहत योजनासहितको डिपिआर बनेको थियो । डिपिआरका लागि समितिले २० लाख खर्चेको थियो ।
डिपिआर अनुसारको काम गर्न १५ करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको दुई वर्ष बित्यो । ‘त्यतिबेलाको बजार मूल्य र जिल्ला दररेटमा राखिएको लागत हरेक वर्ष बढ्दै जान्छ’ तत्कालिक समितिका अध्यक्ष धनबहादुर परियारले भने, ‘विकास समितिहरु खारेज भए, अब सबै जिम्मा नगरपालिकामा छ ।’
बागलुङ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले नगरपालिकाले स्वामित्व लिएर रंगाशाला निर्माण गर्ने बताए । ‘हाल भैरहेको मैदानबाहेक केही जमिन आवस्यक छ, त्यसको प्रक्रिया पु¥याउने र संघ तथा प्रदेशको बजेटको साझेदारीमा बनाउ“छौं’ सुवेदीले भने, ‘जमिनको व्यवस्थापनपछि काम सुरु हुनेछ ।’
समितिले बागलुङमै कबर्डहल निर्माणका लागि ३० लाख, दुर्लेबेसी खेल मैदान निर्माण गर्न २० लाख, मदन भण्डारी स्पोर्ट एकेडेमीका लागि २० लाख, बाङेचउर खेल मैदान सम्याउन २० लाख बजेट लगानी गरेको थियो । लगानी हस्तान्तरणपछि समिति खारेजीमा परेको हो । डिपिआर अनुसारको कवर्डहल बनेमा ‘इनडोर’ खेल संचालन हुनेछन् भने मैदानमा क्रिकेट, फुटबल र अन्य खेलको अभ्यास र राष्ट्रिय प्रतियोगता गर्न सकिन्छ ।
तर गत वर्षदेखिनै सानातिना योजनाहरुमा मात्रै बजेट बाँडिएकोले ती योजना पनि पुरा नभएको परियारले बताए । ‘सानातिना योजनामा काम पनि भएनन्, ठूलो योजना सुरु पनि भएन’ उनले भने, ‘अझैपनि रंगाशाला निर्माणमा चासो दिने काम भएको छैन ।’ बागलुङ नगरपालिकाले पनि पटकपटक रंगाशालाबारे नीति तथा कार्यक्रममा समावेश गरेको थियो । प्रदेश वा संघिय बजेट परिचालन गर्ने विषयमा भने नगरपालिकाबाट ठोस पहल नभएको खेल क्षेत्रका अगुवाहरु बताउँछन् ।
दुइ वर्षअघि ढोरपाटन नगरपालिका २ र निसीखोला गाउँपालिका २ को भूभाग समेटिएको अर्नाकोटमा विमानस्थल निर्माणका लागि डिपिआर बनाए पनि त्यो समेत अहिलेसम्म निर्माणको थालनी भएको छैन । बुर्तिवाङदेखि अर्नाकोटसम्मको ५ किमी सडक स्तरीय बनाउन नगरपालिकाले लगानी गरेपनि विमानस्थलबारे चासो नभएको हो ।
नागरिक उड्ययन प्राधिकरणले समेत उक्त फाइल थन्क्याएकोले काम अगाडि नबढेको स्थानीयको गुनासो छ । यहाँको २ सय ७९ रोपनी जमिन अधिग्रहण गर्नुपर्ने अध्ययनले देखाएको छ । एयरपोर्ट संचालन गर्न झण्डै एकसय घर सार्नुपर्छ ।
स्थानीयले आवादीसहित केही झाडी भएको खण्ड फाँडेर भएपनि विमानस्थल बनाउन दिन सक्रियता देखाएका थिए । राजनीतिक दलका नेताहरुलेपनि चुनावताका विमानस्थलको नारा लगाएका थिए । तर अहिलेसम्म काम हुने लक्षण नदेखिएको स्थानीय द्रोण कुँवरले बताए ।





