बागलुङ, २३ माघ– स्याङ्जाको आँधीखोला गाउँपालिकाले जलचर संरक्षण र व्यवस्थापन ऐन तथा स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन बनाएको छ । गाउँपालिकाको आठौं गाउँसभामा उपाध्यक्ष शर्मिला देवी पौडेलले प्रस्ताव गरेका बिधेयकहरु सर्वसम्मतिले पारित भएसँगै ऐन बनेका हुन् । गाउँपालिकाको बिधायन समितिले तयार पारेका बिधेयक नगरसभामा आवश्यक छलफल पछि पारीत भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्षले हस्ताक्षर गरेपछि ऐन कार्यान्वयनमा आउनेछन् । जलचरको संरक्षण र वातावरण तथा प्राकृतिक स्रोत साधनको संरक्षणमा स्थानीय तह आँफैलाई बाटो खुलेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले प्रतिकृया दिए । यसैगरी, उपाध्यक्ष शर्मिला देवी पौडेलले आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक तथा विनियोजन ऐन संशोधन सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । पौडेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आँधीखोला गाउँपालिकाको चालू खर्च २ करोड ३२ लाख (३२ प्रतिशत), पुँजीगत खर्च २ करोड २७ लाख (१७ प्रतिशत) रहेको छभने संघीय सरकार सशर्त अनुदान तर्फको खर्च ६ करोड ५० लाख (३१ प्रतिशत) रहेको छ । शुक्रवार गाउँपालिकाको वडा नं ५ को सभा हलमा सम्पन्न भएको आठौं गाउँ सभाको अध्यक्षता गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले गरेका थिए । पौडेलले गाउँपालिकाको प्रशासनीक भवन बनाउने काम ७५ प्रतिशत सकिएको जानकारी दिए ।





