बागलुङ, १ फागुन– काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको अमर माध्यमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गर्दै आफ्नो ५५ औं वार्षिकोत्सव मनाउन सुरु गरेको छ ।
चार दिवसीय कार्यक्रमसहित विद्यालयले बार्षिकोत्सव मनाउन लागेको हो । विविध कार्यक्रमअन्तर्गत शनिवार आधारभूत तह कक्षाका सवै विद्यार्थीहरूको बेलुन व्लास्ट, चम्चा दौड, तातोआलु कार्यक्रम सम्पन्न भएका छन् ।
माध्यमिक तह र आधारभूत तहको एकल नृत्य प्रतियोगितासमेत सम्पन्न भएको विद्यालयले जनाएको छ । विद्यालयको व्यवस्थापन समितिमा रहेर विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पु¥याउने समितिका १३ जना पदाधिकारीलाई कदर पत्र र खादाले सम्मान गरिएको थियो ।
नेपाल सरकारको सामुदायिक विद्यालय समायोजन तथा एकीकरण गर्ने कार्यविधि अनुसार यस विद्यालयमा समायोजन भएको बाल विकास आधारभूत विद्यालयका विव्यसका ९ जना पदाधिकारीलाई समेत सम्मान गरिएको थियोे ।
सम्मान कार्यक्रममा पुर्व विव्यस अध्यक्ष कृष्णप्रसाद कँडेल, निर्माण समितीका अध्यक्ष ज्ञामनाथ कँडेल, संस्थापक सदस्य कमलापती कँडेल, विद्यालयका प्रअ भीष्म कँडेल र विद्यालयका संस्थापक अध्यक्ष गोविन्द प्रसाद कँडेलले बोलेका थिए ।
कार्यक्रमको अवसरमा गलकोट नगरपालिका–२ निवासी भिमलाल गैरे र नन्दकली गैरेले आफ्नो ससुरा बुबा स्व. तुलसी राम कँडेल र सासू÷आमा अम्विका कँडेलको नाममा १ लाख १ सयको ‘तुलसीराम÷अम्विका अक्षयकोष’ स्थापना गरेका छन् ।
विव्यस अध्यक्ष शिव प्रसाद कँडेलको अध्यक्षता, सहायक प्रअ रघुपती शर्माको स्वागत र शिक्षक भानुभक्त न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





