नवलपुर, २ फागुन– कृषि बिकास निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजनामा नवलपुरमा अन्तरक्रिया गोष्ठी भएको छ । कृषि उपज उत्पादक र ब्यापारीबीच नवलपुरको कावासोतीमा रहेको कृषि उपज थोक बजार ब्यवस्थापन समितिको कृषक सभाहलमा आईतवार अन्तरक्रिया भएको हो ।
कृषक र ब्यापारीबीच भएको अन्तरक्रियामा अधिकांश कृषकले अत्यन्त संबेदनशील कृषि उपज तरकारी, फलफूल लगायतका उत्पादनलाई बजारसम्म पुर्याउनदेखि मुल्यमा समेत ब्यापक समस्या रहेको गुनासो गरेका छन् ।
स्थानीय उत्पादनका बारेमा ब्यापारीलाई जानकारी गराउने उदेश्य र कृषि उपजलाई बजारीकरणको पहुँच बृद्धि गर्दै कृषिलाई आत्मनिर्भर ब्यवसायमा बिकास गर्ने लक्ष्यका साथ आयोजित अन्तरक्रियामा कृषि ज्ञान केन्द्र नवलपुरका बाली संरक्षण अधिकृत मीरा चौधरीले नीति, ऐन, निर्देशिका लगायत नवलपुरमा कृषि उत्पादनको तथ्याङ्गत अवस्था, बजार प्रवद्र्धन लगायतका बिषयमा डिजिटल कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई नवलपुरका बरिष्ठ कृषि अधिकृत बिष्णुप्रसाद शर्माले उत्पादक र ब्यापारीबीचको सम्वन्धलाई मध्यस्तकर्ताले सहजीकरण गर्दा बजारको सन्तुलन धेरै हदसम्म एकरुपता हुन सकेको बताउँदै कहिलेकाही बजारमा माग धेरै हुने तर माग अनुसारको कृषि उपज नहुँदा देखिने अधिकतम मुल्य कृषकसँगै पुग्ने बताएका छन् । अधिकृत शर्माले बिशेष चाडपर्व, विवाह हुने महिना र बेमौसमी उत्पादन बजारमा पुग्दा कृषि उपजको राम्रो मुल्य उत्पादक कृषकले प्राप्त गर्ने गरेको बताए ।
कृषि बिकास निर्देशनालय गण्डकीका प्रमुख बासुदेब रेग्मीले कृषिलाई उद्योग र कृषकलाई उद्यमीको मोडलमा जोड्ने गरी निर्देशनालयले गृहकार्य गरेको बताए । प्रमुख रेग्मीले धेरै कृषि उपज लामो समय जोगाउन गाह्रो पर्ने भएकाले त्यस्ता उत्पादनलाई छिटो बजारसम्म पुर्याएर बिक्री गर्नुपर्ने बाध्यताका कारण उचित मुल्य पाउन नसक्ने अवस्था रहेको बताएका छन् ।
उनले यो अवस्थाबाट कृषक माथि आउन पनि उत्पादक कृषकहरुले उत्पादनको मात्रालाई बढाउने, बजारको माग पुरा गर्ने, छिटो बिग्रने गोलभेडाजन्य उत्पादनलाई सस–केचप उत्पादन गर्र्नेे, अन्य तरकारीजन्य उत्पादनलाई अचार जस्ता उत्पादनमा लैजाने, फलफूलजन्य उपजलाई जुुस आदि उद्योगसँग जोडेर ब्यवसायिक बनाउँदा उद्यमता उन्मुख हुने बताए ।
अन्तरक्रियात्मक गोष्ठीको अध्यक्षता निर्देशनालयका प्रमुख बासुदेव रेग्मीले गरेका थिए भने सञ्चालन कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले गरेका थिए ।
अन्तरक्रियामा जिल्लाका अगुवा तथा ब्यवसायिक कृषक, नवलपुरमा रहेका कृषि उपज थोक तथा बिक्री केन्द्रका सञ्चालक प्रतिनिधि, नवलपुरको नजिकैको प्रमुख बजार नारायणगढका ब्यवसायी समेतको सहभागिता रहेको थियो ।





