बागलुङ, ४ माघ– बिद्यामन्दिर पुस्तकालय बाल बिकास केन्द्रमा रहेको ‘शिशिर–बसन्त बाल प्रतिभा अक्षयकोष’को रकम बृद्धि भएको छ ।
मंगलबार सरस्वती पुजाको अवसर पारेर कोषका संरक्षक श्याम श्रेष्ठले कोषको रकम बृद्धि गरेका हुन् । श्रेष्ठले आफ्ना दिवंगत छोराहरुको नाममा उक्त अक्षयकोष स्थापना गरेका थिए । ५५ हजार ५ सय २५ रुपैयाँ रहेको कोषमा २० हजार रुपैयाँ थप गरेर ७५ हजार ५ सय २५ पु¥याईएको श्रेष्ठले बताए । कोषको व्याज रकमबाट हरेक बर्ष बालबिकास केन्द्रले उत्कृष्ट बाल प्रतिभालाई पुरस्कृत गर्ने गरेको छ । कोषमा बृद्धि गरीएको रकम हस्तान्तरण गर्दै संरक्षक श्रेष्ठले आगामी दिनमा समेत बालबिकास केन्द्रको बिकासमा सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे । उक्त बालबिकास केन्द्रमा मंगलबार सरस्वती पुजा तथा अक्षर आरम्भ कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा अभिभावक रञ्जना श्रेष्ठ, बालबिकास केन्द्रका सदस्य गोविन्द ओझा लगायतले बोलेका थिए । कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष तथा बालबिकास केन्द्र सञ्चालक समितिका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता, सहजकर्ता उमा क्षेत्रीको स्वागत र सचिव रामचन्द्र शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।





