बागलुङ, ५ फागुन– धौलागिरी बहुमुखी क्याम्पसको ५८ औं वार्षिकोत्सव मुल समारोह मंगलवार सम्पन्न भएको छ ।
२०१९ साल भदौमा स्थापना भएपनि क्याम्पसले हरेक बर्षको श्रीपंचमीको दिन वार्षिकोत्सव मनाउने गरेको छ । वार्षिकोत्सवको अवसरमा त्रिभूवन विश्व विद्यालयका शिक्षाध्यक्ष शिवलाल भुषालले विश्वविद्यालय भित्र र आंगिक क्याम्पस तहमा रहेका अधिकांश समस्या समाधानको पक्षमा वर्तमान पदाधिकारी गम्भीर रहेको बताए ।
क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले आगामी ५ वर्षभित्र मानित विश्वविद्यालयको रुपमा स्थापित हुने योजना सहितका क्रियाकलापमा अगाडि बढेको प्रतिवेदन पेश गरेका थिए । उनले आधुनिक विद्युतीय पुस्तकालय निर्माण अघि बढेको र अघिल्लो वर्षदेखि सुरु भएको बिबिए कार्यक्रमतर्फ नेपालकै उत्कृष्ठ स्थान पाएकोमा खुसी व्यक्त गरे । बिज्ञान र बिबिएजस्ता संकायमा आंशिक र थोरै शिक्षकबाटै काम चलाइएको उनले जनाए ।
क्याम्पस प्रमुख उपाध्यायको अध्यक्षता, सहायक क्याम्पस प्रमुख तिलक कंडेलको संचालन र धु्रब गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्रमुख सरोज कोइराला, त्रिवि सभाका सदस्य दिनबहादुर थापा, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, नेकपा इन्चार्ज बलावती शर्मा, कांग्रेस सभापति दिपेन्द्रबहादुर थापा, राष्ट्रिय जनमोर्चाका सचिव भीमलाल पोखरेल, बानपा २ का अध्यक्ष जीवन आचार्य, पूर्वस्ववियु सभापति चिरन्जिवी गौतम, उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, पत्रकार महासंघका सचिव राम थापा अविरल, स्ववियू सभापति मनिष थापा, नेविसंघ इकाइ अध्यक्ष दिनेश पन्त, अनेरास्ववियुका केन्द्रीय सदस्य जीवन शर्मालगायतले क्यामपसको गुणस्तर सुधारगर्न सबैको साझा पहल आवस्यक पर्ने बताएका थिए । साथै उनीहरुले क्याम्पसको बार्षिकोत्सवको शुभकामना पनि दिएका थिए ।





