गत महिना सम्पन्न म्याग्दी उद्योग वाणिज्य संघ २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट बेलबहादुर कटुवाल एकमतले अध्यक्षमा निर्वाचित भए । विसंं २०५३ सालदेखि साधारण सदस्य र २०६५ मा कार्यकारिणी समितिको सदस्यका रुपमा संघको संस्थागत विकासमा सक्रिय कटुवाल बेनी अस्पताल विकास समितिका अध्यक्षसमेत हुन् । निजी क्षेत्रमा अनुभव भएका कटुवाल ब्यवसायीको समस्यालाई नजिकबाट सम्बोधन गर्ने र जिल्लाका सबै पक्षसँग सहकार्य गरी आफ्नो कार्यकाल सफल बनाउन चाहन्छन् । निजी क्षेत्रसँगै सामाजिक संघसंस्थालाई पनि संस्थागत गतिविधिमा प्रतिनिधित्व गराउने उनको लक्ष्य रहेको छ । यसै सन्र्दभमा ढोरपाटन दैनिकका म्याग्दी संवाददाता हरिकृष्ण गौतमले कटुवालसँग कुराकानी गरेका छन् ।
अध्यक्ष भएपछि कत्तिको ब्यस्ता हुनुहुन्छ ?
सर्वप्रथम धन्यवाद, अध्यक्ष भएपछि नियमित कामसँगै बधाई तथा शुभकामना कार्यक्रमहरुमा सहभागी हुने तथा आफ्नो कार्यकाललाई कसरी सफल बनाउने भन्नेमा केन्द्रित भएर लागेको छु । मुनाफाको उद्देश्य राखेर संचालनमा रहेका जुनकुनै निकाय, संस्थाहरु निजी क्षेत्रसँग मात्रै होईन् साझेदार निकाय स्थानीय, प्रदेश, संघीय सरकार, औद्योगिक, व्यवसायीक प्रतिष्ठान, आम नागरिक समाज र सञ्चार जगतसँग सहकार्य गरी अगाडी बढ्ने सोचअनुसार छलफल र भेटघाटमा छु ।
जिल्लाको आर्थिक विकासमा उद्योग वाणिज्य संघको भूमिका के रहन्छ ?
म्याग्दी उवासंघ आँफू स्थापना भएदेखि नै निजी क्षेत्रको हक हितको संरक्षण गर्दै जिल्लाको आर्थिक विकासमा एक सशक्त साझेदार संस्थाका रुपमा आफूलाई परिचित गराएको छ । यसका उदाहरणका रुपमा विभिन्न मेला महोत्सव, तालिम, गोष्ठीहरु संचालन, भ्रमण वर्षको आयोजना, लभ्ली हिल पदमार्गको निर्माण, बहुउद्देश्यीय मैदान निर्माण, बेनीबजारमा मोटरेबल पुल नहुँदा म्याग्दी नदीमाथी अस्थायी मोटरेबल पुल निर्माण, मालढुंगा बेनी, बागलुङ बेनी मोटरबाटोहरु मर्मत, बेनीबजारमा सिसिटिभी क्यामेरा जडानलगायतका भौतिक पूर्वाधारहरु निर्माणमा विभिन्न निकायहरुसँग समन्वय र पैरवी, जिल्लाका सम्भावनाहरुको उजागर हुनेगरी ब्रोस्योर, स्मारिका प्रकाशनहरु आदी यसका उदाहरणका रुपमा लिन सकिन्छ ।
मुख्य गरी कुन–कुन क्षेत्रमा केन्द्रित भएर काम गर्नुहुन्छ ?
जिल्लाको समग्र निजी क्षेत्रको छाता र स्थापित संस्था हो । यसको आफ्नै कार्यपद्धती रहेका छन् । मेरो कार्यकालले संघको संस्थागत विकास र संस्थागत क्रियाकलापहरुलाई निरन्तरता दिनेछु । जलविद्युत, कृषि उत्पादन, पशुपंक्षी पालन र जडिबुटीको व्यवसायीक उत्पादनका क्षेत्रमा समेत मेरो कार्यकाल केन्द्रित रहनेछ । म्याग्दी पर्यटन र जलविद्युतमा हब नै भएकाले निजी क्षेत्रबाट लगानी भित्राउन आवश्यक सहजिकण गर्नेछु । साथै, उद्योगी व्यवसायीहरुलाई पर्ने समस्या समाधान, सुविधा थप र घुम्ती शिविरमार्फत राजश्व संकलन तथा समस्या समाधानमा सरकारले निजी क्षेत्रको प्रतिनिधीमूलक संस्थाहरुसँगको सहकार्यलाई प्रभावकारी बनाउने सोच छ । सरकारी निकायसँगको समन्वयात्मक भूमिलाई प्रभावकारी बनाउन आवश्यक योजनामा जोड दिएको छु । अब म्याग्दीलाई पर्यटन र जलविद्युतको हब भएको प्रमाणित गर्नुपर्छ
ब्यवसायीलाई सरकारी निकायबाट धेरै सास्ती हुने गरेको गुनासो छ नी ?
अवश्य पनि हो, कतिपय विषयहरुका कठिनाईलाई स्थानीय तहमा मिलाउन सकिने कुराहरुमा संघले समन्वयात्मक भूमिका निर्वाह गर्दै आईरहेको कुरा यहाँहरु समक्ष राख्न चाहन्छु भने कतिपय राष्ट्रिय स्तरका समस्याहरु संघ एक्लैले समाधान गर्न सकिने विषय पक्कै होईनन् यसका लागि संघले स्थानीय, प्रदेश र संघिय सरकारहरुलाई आफ्ना तर्फबाट सुझाव र मागहरु प्रस्तुत गर्दै आईरहेको छ, यस्ता कतिपय उदाहरणहरु हामीमाझ रहेका छन् । जस्तो प्राईभेट फर्म दर्ता र नविकरण, आयकर तथा ढिला विवरण र व्याज छुटजस्ता कुराहरु हामी जस्तौ जिल्ला नगर उवासंघहरु र नेपाल उद्योग वाणिज्य महासंघको पहलकदमीमा सम्पन्न भएको कुरा पनि यहाँहरु माझ राख्न चाहन्छु ।
कोरोना जोखिमले विस्थापितको मुखमा पुगेका ब्यवसायीलाई केही सहयोग छैन ?
हामीले राहतभन्दा पनि वित्तिय संस्थाबाट ब्याजदर र किस्तामा झन्झट नबनाउन अनुरोध गरेका छौ । कोरोना संक्रमणले विश्व अर्थतन्त्रका बलिया राष्ट्रहरुलाई समेत असर पारेको हामी सबैलाई थाहा भएकै कुरा हो । यसले नेपालमा पनि आफ्नो असर त पक्कै देखाएकै छ । उद्योगी व्यवसायी साथीहरुलाई यस अवस्थामा असजता भएको पक्कै छ । उनीहरुको समस्याको पहिचान गरी समाधानका लागि सम्बन्धित निकायहरुमा पहल थालिसकेको छु ।
तपाईहरुको हितकोष स्थापनाले के कस्तो काम गर्छ ?
साधारण सदस्य लिएकालाई यो कोषमार्फत मृत्युवरणपछि परिवारलाई सहयोग हस्तान्तरण गरिनेछ । यो अभियान अत्यन्तै प्रभावकारी भएको छ । दुःखको समयमा सानो सहयोगले पनि ठूलो महत्व राख्ने हुँदा यस कोषको परिकल्पना गरी स्थापना गरिएको हो । यस कोषको अक्षय रकम १ करोड पु¥याउने लक्ष्य छ भने कोषमा सदस्यहरुको आवद्धता लिनेको संख्या ह्वात्तै बढेको छ । सतप्रतिशत साधारण सदस्यहरुलाई यस कोषमा आवद्धता जनाईदिने वातावरण बनाउँदैछु । वि. सं. २०७७–२०८० को मेरो कार्यकाललाई सफल र उदाहरणीय बनाउनमा यो कोषको समेत योगदान हुनेछ ।
साना उद्यमीहरुलाई संघले प्रोत्साहन निजी क्षेत्रको ध्यान पुग्न सकेको छैन, तपाईहरुप्रतिको गुनासो सुन्नुभएको छैन ?
संघले सक्ने सहयोग गरेको छ तर पनि अलि कमी भए होला । संघले आयोजना गर्ने मेला महोत्सवहरुमा निःशुल्क स्टल उपलब्ध गराउने, विभिन्न विधामा प्रतियोगिता गराएर पुरस्कृत गर्ने, अन्य जिल्लाहरुमा हुने मेला महोत्सवमा निःशुल्क स्टलका पहल गरिएका, उत्पादित वस्तुले बजार नपाएको अवस्थामा बजारको खोजी गर्ने जस्ता क्रियाकलापहरु गरिदै आईरहेका छन् । अहिले त जिल्लाका ५ ओटा गाउँपालिकाहरुमा बजार इकाई समितिहरु गठन गरिएको छन् । त्यहींबाट हामीले उद्यमीको खोजीमा जुट्ने प्रयासमा छौ । सहयोग र सक्रियता विगतमा पनि थियो र भविष्यमा पनि हुन्छ । साना उद्यमी जिल्लाका स्थायी उद्यमी हुन् । ठूला उद्योग नभएकाले हामीले साना उद्यमी प्रोत्साहनका कार्यक्रमहरुलाई प्राथमिकता दिन्छौ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
उद्योगी व्यवसायीहरुको प्रतिनिधीमूलक छाता संस्थाको गरिमामय संस्थाको अध्यक्ष पदको जिम्मेवारी सम्हाल्ने अवसर पाउँदा म गौरन्वावित भएको छु । अध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी प्रदान गर्नुहुने सम्पूर्णमा आभारसहित धन्यवाद ज्ञापन गर्दछु । आम उद्योगी व्यवसायी मित्रहरु, सरकारी गैह्रसरकारी संस्था, कार्यालयहरु, स्थानीय निकायहरु, समाजसेवी, बुद्धिजिवी, नागरिक समाज र आम सञ्चारजगतसँग मेरो सहकार्य निरन्तर हुन्छ । मेरो अध्यक्षताको कार्यकाल २०७७–२०८० लाई सफलिभूत एवं स्वर्णिम बनाउनका लागि आर्थिक, भौतिक र नैतिक रुपमा सक्रिय सहयोग, समर्थन र मार्ग निर्देशन प्राप्त हुनेछ भन्ने कुरामा विश्वस्त छु ।





