तनहुँ, २३ फागुन– खोरादी युवा क्लबको आयोजनामा भएको साविक वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधि लोकदिटार युवा क्लबले उचालेको छ । शुक्लागण्डकी नगरपालिका–१० खोरादिमा शनिवार भएको फाईनल खेलमा २–० को सोझो सेटमा गामि छाक्रा युवा क्लबलाई पराजित गर्दै लोकदिटारले उपाधि कब्जा गरेको हो ।
लोकदिटारले गामि छाक्रालाई २५–२२,२५–२२ को सेटमा पराजित गरी उपाधिसङ्गै नगद २५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता गामि छाक्राले १५ हजारमा चित्त बुझायो ।
आयोजक खोरादी युवा क्लबले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि भएको खेलमा गामि छाक्रासंग पराजित हुदै तेस्रो स्थान हासिल गरेको हो । खोरादीलाई गामि छाक्राले २५–२३,२५–२३ को सोझो सेटमा घरेलु मैदानमा पराजित गर्न सफल भएको छ । खोरादीले नगद ८ हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र आफ्नो पोल्टामा पारेको छ ।
फागुन १९ गतेदेखि सुरु प्रतियोगितामा तनहु र स्याङजाका २५ टिम सहभागी थिए । भलिबल प्रतियोगिता सहित विविध सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।





