पोखरा, २५ फागुन – ३ वर्षको उमेरसम्म उनले आमाको दूध छोडेकी थिइनन् । तर, त्यही समयमा पढ्न धरान जानुप¥यो । गाउँमा उनका लागि स्कुल नभएकाले सुदूर ठाउँ धरान पुग्नु प¥यो । आमाको काखमा लडीबुडी खेल्नुपर्नेबेला पढ्न उनी धरान पुगिन् ।
गुल्मीको रुरु गाउँपालिका बलेटक्सारकी २८ वर्षीय सुनीता ज्ञवाली दृष्टिविहीन हुन् । घरमा उनीमात्रै होइन, दिदी पनि दृष्टिविहीन नै छिन् । २ जना भाइले भने देख्न सक्छन् । दिदीसँग मिलेर नै उनी धरानस्थित ज्ञानचक्षु स्कुलमा भर्ना भए । यो स्कुल दृष्टिविहीन बालबालिकालाई पढाउन खोलिएको थियो । त्यहींबाट सुनीताले प्रारम्भिक शिक्षा लिन थालिन् ।
तत्कालीन समयमा अपांगता भएका व्यक्तिले पढ्ने स्कुल गुल्मीमा थिएन । पढ्ने स्कुल नभएपछि कान्छी बहिनी रिता ज्ञवाली पनि ४ वर्षपछि उतै गइन् । उनी पनि दृष्टिविहीन नै हुन् । त्यतिबेला ज्ञानचक्षु स्कुलमा ८ कक्षासम्ममात्र पढाइ हुन्थ्यो । ८ पास गरेपछि थप अध्ययन गर्न ३ जना दिदीबहिनी पोखरा फर्किए ।
पोखराको अमरसिंह नमुना माविमा तीनै जना भर्ना भए । धरानमा दृष्टिविहीनका लागि मात्र खोलिएको स्कुल थियो । जहाँ सबै विद्यार्थीहरु दृष्टिविहीन नै थिए । संरचना पनि अपांगमैत्री । तर, पोखरामा भने अवस्था फरक थियो ।
पोखरामा उनीहरु अरु सामान्य विद्यार्थीहरु सँगै मिसिएर पढ्नु पर्ने भयो, होस्टलमात्रै अपांगमैत्री । दिउँसो विद्यालयको कक्षा कोठा बाहेक होस्टलमा दृष्टिविहीनलाई सिकाउन गणित विषयका शिक्षक उपलब्ध थियो । उनीहरुले यसरी नै पढाइलाई अगाडि बढाए ।
‘कक्षाकोठामा त सरले भनेको कुरा सुन्ने मात्र हो, देख्ने कुरा भएन’, सुनीताले ढोरपाटनसँग भनिन्, ‘होस्टलमा ब्रेल लिपीको किताब थियो, त्यही छामेर पढें ।’ यसरी पढ्दा पनि खासै गाह्रो नभएको सुनितना सम्झिन्छिन्, ‘देख्न नसक्ने भएकाले विज्ञानका चित्र पढ्न गाह्रो हुने हो, त्यो त देख्नेहरुलाई पनि गाह्रै छ नि ।’
विद्यालय शिक्षा सरासर पास भएर उनी आइए पढ्न पोखराकै पृथ्वीनारायण (पिएन) क्याम्पस गइन् । पिएन क्याम्पस पनि अपांगमैत्री छैन । दृष्टिविहीन पढाउने छुट्टै कक्षा, पाठ्यपुस्तक र शिक्षक छैनन् । अरु विद्यार्थी सरह सुनीताका दिदीबहिनी पिएन क्याम्पसमा पढ्न थाले ।
सुनीताले अंग्रेजी साहित्य र समाजशास्त्रमा स्नातक गरेकी छिन् । एमए भर्ना हुने उनले तयारी गरेकी छिन् । बहिनी रिताले पनि नेपाली साहित्यमा स्नातक सकेकी छिन् ।
०००
सानोमा बाबुले सुनेको रेडियोबाट रेडियोप्रति सुनीताको चाख बढेको थियो । त्यसमा पनि बाबुले सुन्ने बिबिसीका संवाददाताहरुको रिपोर्ट सुनेपछि उनलाई त्यसरी बोल्न पाए हुने भन्ने लाग्थ्यो । उनले यो रहर एफएमबाट पूरा गर्न चाहिन ।
त्यतिबेला अन्नपूर्ण एफएमको ‘कल–इन’ कार्यक्रम हिट थियो । सुनीताले कार्यक्रममा फोन गर्ने र ‘फर्माइस’ गर्न थालिन् । पिएन क्याम्पसको होस्टल बस्दा रेडियो कार्यक्रम आउने समय कुरेर बस्थिन् । ‘रेडियोमा बोल्ने पाए त हल्ला–खल्ला गर्न पाइन्छ, क्रेज पनि हुन्छ भन्ने थियो शुरुमा त’, उनले भनिन्, ‘त्यहीबेला अन्नपूर्ण एफएमले नै रेडियो प्रस्तोताका लागि विज्ञापन खुलायो ।’ अन्तरवार्ताबाट छनोट पनि भइन् ।
२०६५ सालमा अन्नपूर्ण एफएमले रेडियो प्रस्तोताका रुपमा छनोट गरेपछि उनले कार्यक्रम चलाउन थालिन् । पछि हप्तामा ३ वटासम्म कार्यक्रम चलाउन थालिन् । कार्यक्रमको स्वरुप र संख्या बढे पनि रेडियोको कामले खान पुग्दैनथ्यो । पैसा भन्दा उनको शौख नै ठूलो भयो त्यतिबेला ।
आइए सकिएपछि जेठी दिदी अनिताले पोखराकै मालेपाटनस्थित बाराही माविमा पढाउन थालिन् । आफू दृष्टिविहीन भएपनि उनले अरु सामान्य विद्यार्थीलाई पढाउनुपथ्र्यो । सेतो छडी बोकेर स्कुल जाने आउने गर्न थालिन् अनिता । एक दिन पढाउन जाँदै गर्दा पस्र्याङमा उनीमाथि भएर पोखराकै मदरल्यान्ड बोर्डिङ स्कुलको बस हुँइकियो । उनी त्यहीं अस्ताइन् ।
केहीदिन बसेर पोखरा फर्किए सुनीता र रिता । अनिताको ठाउँमा पढाउन सुनीतालाई राख्ने कुरा चल्यो । तर विद्यालय प्रशासनले मानेन । ‘मसँग शिक्षण अनुमतिको लाइसेन्स थियो, तर बाराही स्कुलले मानेन । किन मानेन मलाई थाहा छैन । आइ थिंक, ‘ब्लाइन्ड’ भनेरै होला !’, उनले भनिन् ।
हल्लाखल्ला गर्न पाइन्छ भनेर रेडियो छिरेकी सुनीता गम्भीर मुद्दाहरुमा बहस गर्ने र जिम्मेवार व्यक्तिहरुलाई प्रश्न सोध्ने भइन् । एक दिन घरमा बुबाले उनलाई घरमा बोलाए । २ दिनका लागि घर गए, सुनीता र रिता ।
तत्कालीन समयमा देश संघीयतामा जान प्रदेशको सिमांकन हुँदै थियो । प्रदेश ५ मा केही विवादहरु भए । त्यही विवादका कारण गुल्मी जिल्ला बन्द भयो । जिल्ला बन्द हुँदा उनी पोखरा फर्किन सकिनन् । यता, बोल्ने मान्छे ठीक्क भइसकेको कार्यक्रम रद्द गर्नुपर्ने, उता आफू गाउँमै थुनिनुपर्ने ।
सुनीताले रेडियोका तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई फोन गरेर जानकारी दिइन् । अधिकृतलले ‘बर्बाद भयो भन्दै अबदेखि कार्यक्रम नगर्ने’ भन्ने जवाफ दिए । सुनीतालाई अब रेडियो छोड्न उनले दबाब दिए ।
‘मैले त्यतिबेला ‘मेरो उहाँ, मेरी उनी’ कार्यक्रम पनि दोहो¥याएको भए समस्या नआउने रहेछ’, उनले भनिन्, ‘इमान्दार हुनुपर्छ भनेर त्यसो नगरी समस्याबारे जानकारी गराउँदा उल्टै निकालिनुप¥यो’, उनले दुखेसो पोखिन् ।
त्यहाँबाट निकालिएपछि सुनीता अर्को रेडियोमा काम गर्न बायोडाटा लिएर गइन् । तर, उनले कतै काम पाइनन् । रेडियोमा कार्यक्रम उत्पादनदेखि प्रस्तुत गर्ने मोह भने अझै उनले मारेकी छैनन् । अहिले पोखराकै अर्को एफएममा कुरा भइरहेको उनी बताउँछिन् । रेडियोमा बोल्न छाडेको ४ बर्ष बित्यो । अहिले उनी पोखराकै धर्मस्थली आधारभूत विद्यालय पस्र्याङमा पढाइरहेकी छिन् ।
०००
रेडियोमा काम गर्दा–गर्दे एक पटक गैरसरकारी संस्था ‘इक्वेल एक्सेस’ले नयाँ कार्यक्रम प्रस्तोताका लागि आवेदन खुलायो । सुनीताले पनि इमेल मार्फत आवेदन दिइन् । उनले आवेदनमै ‘आई एम ब्लाइन्ड, बट आइ क्यान डु’ लेखिन् । आवेदनसँगै उनले अन्नपूर्ण एफएममा काम गर्दा दिएको परिचय पत्रको फोटोकपी पनि पठाइन् ।
इक्वेल एक्सेसको रेडियो कार्यक्रम ‘साथीसँग मनका कुरा’ त्यतिबेला चर्चित थियो । सुनीता नछुटाई सुन्थिन् । त्यही कार्यक्रमका लागि आवेदन खुलेको थियो, आवेदन दिइन् । नाम सर्टलिस्टमा निस्कियो । उनी मख्ख भइन् । इक्वेल एक्सेसबाट फोन आयो । ‘तपाईलाई बुधबार फोन आउँछ है ! १० बजे’ फोनमा उक्त संस्थाका अधिकारीले भने ।
साँझसम्म फोन आएन । कामसकिवरी आफैं इक्वेल एक्सेसमा फोन गरेर बुझिन् । उताबाट जवाफ आयो– ‘तपाईको फोन लागेन ।’ आफू दृष्टिविहीन भएकै कारण आफू सर्टलिस्टमा पर्दा पनि अन्तर्वार्ता दिन नपाएको उनले ठानिन् । ‘त्यहाँ पहिलो पटक ‘डिस्क्रिमिनेसन’ गरेको फिल भयो । यो ६७ सालतिरको कुरा,’ उनले भनिन् ।
दिदी शिक्षक भएको ठाउँमा नराख्नु पनि आफू दृष्टिविहीन हुनु नै कारण भएको उनी सुनाउँछिन् । पोखरामा बस्दा कोठा पाउनै गाह्रो हुनेदेखि बाटो हिँड्दा अरु व्यक्तिले गर्ने टिप्पणी पनि उत्तिकै अश्लिल हुन्छ । सार्वजनिक यातायातले कहिले त रोक्दा पनि रोक्दैन । यी सब दुव्र्यवहार र विभेद छोइने गरी भोगेकी छिन्, सुनीताले ।
बाटोमा हिँड्दा मान्छेले गर्ने दुव्र्यवहार त छँदैछ, सडकमा भेटिने कुकुर र छाडा चौपायाको पनि उत्तिकै खतरामा छन्, दृष्टिविहीन । ‘बाटोमा सुतेको कुकुर कुल्चियो भने टोक्छ,’ उनले भनिन्, ‘गाईगोरु हान्न आउँछ, अरु मान्छेले गर्ने व्यवहार त भई नै हाल्यो, गाडीले त झन् स्कुल जाँदै गर्दा दिदीलाई हानिदियो ।’
देश दुनियाँमा के भइरहेको छ रेडियो सुनेर थाहा पाउँछन् उनीहरु । अनलाइनमा छापिएका समाचार पनि मोबाइलले पढेर सुनाइदिन्छ । अनलाइन खोलेपछि मोबाइलले नै हेडलाइन भनिदिन्छ, मन परेको कुरा मोबाइलले बोलेपछि डबल क्लिक गरेर समाचार र विचार सुन्छन्, उनीहरु । फेसबुक मज्जाले चलाउन सक्छन् । मोबाइलले नै फोटोको नाम वा ब्याकग्राउन्ड भनिदिन्छ र फोटोमा देखिएको व्यक्ति उठेको छ कि बसेको वा केही गरिरहेको छ भने त्यो मोबाइलले नै भनिदिन्छ । ‘प्रविधिले दृष्टिविहीनलाई सजिलो बनाइदिएको छ । अप्ठ्यारो त आँखा देख्नेहरुबाटै हुन्छ,’ उनले भनिन् ।





