बागलुङ/गलकोट नगरपालिकाले राजस्व बढाउन दरमा भन्दा दायरामा ध्यान दिएको छ । यो क्रम बढेर माछा मार्ने जलाहारीसम्म पुगेको छ । दरमखोलाका असला संरक्षण गर्ने र करको दायरा बढाउने काममा नगरले पहल लिएको हो ।
दरमखोलाका माछाबारे धेरै कलाकारका गीत, लेखकका किताब र रचनामा समेत उल्लेख छ । त्यसैले असला संरक्षणका लागि पनि नगरपालिकाले माछा मार्ने समय तोक्ने, जलाहारी सूचीकृत गर्ने र उनीहरूलाई राजस्वको दायरामा ल्याउने काम गरेको हो ।
मध्यपहाडी लोकमार्गमा यात्रा गर्नेहरू गलकोट पुगेपछि दरमखोलाका असला खाने मन गर्छन् । लोकमार्गमा पूर्व पश्चिममा गाडी चल्न थालेपछि असलाको माग बढिरहेको स्थानीय व्यवसायी बताउँछन् । बागलुङको गलकोट खण्डमा पुगेपछि असला माछा खाने चाहना सबैको हुन्छ ।
होटलमा खाजा र खानाका लागि छिर्ने जो कसैको चाहना दरमखोलाको असलामा पुग्छ । खोलामा करेन्ट लगाएर पनि माछा मार्ने प्रवृत्ति बढ्न थालेपछि नगरपालिकाले संरक्षण अभियान थालेको हो । ‘करेन्ट लगाएर वा विष हालेर मार्दा त साना ठूला सबै माछा एकै पटक मर्छन्; त्यो प्रवृत्ति रोक्न जलचर संरक्षण नीति ल्याएका छौं’, गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले भने, ‘माछामात्र होइन; अन्य जीवजन्तु पनि बचाउन यो नीति ल्याउन बाध्य भयौं ।’
वर्षातमा मात्रै रोक्न सके पनि माछा उत्पादन बढ्ने र त्यसबाट हिउँदमा व्यवसायीले मनग्ये असला बेच्न पाउने उनले बताए । माछा मारेर जीविकोपार्जन गर्नेहरूलाई पनि त्यसले राहत मिल्ने छ । एकै पटक करेन्ट लगाएर मार्ने र विष हाल्नेलाई भने कारवाहीसमेत गरिएको उनले बताए ।
यो नीति ल्याएसँगै नगरपालिकाले माछा मार्नेहरू सूचीकृत गरेको छ । उनीहरूलाई तोकिएको मौसममा माछा मार्ने अधिकार दिइन्छ । साउन, भदौ, असोज र कात्तिक महिनामा माछा मार्न प्रतिबन्ध छ । यो बेला माछाले फुल पार्ने र भुरा उत्पादन गर्ने हो । त्यसपछि माछा मार्न खुला हुन्छ ।
माघ महिनामा पनि माछा मार्न रोकिएको छ । बाँकी ७ महिना अनुमतिपत्र पाएका जलाहारीले माछा मार्छन् । नगरपालिकाको तथ्यांक अनुसार गत वर्ष २ सय ६ जना जलाहारीले १ हजार तिरेर माछा मार्ने अनुमतिपत्र लिएका छन् । त्यसबाट नगरपालिकाले २ लाख ६ हजार राजस्व संकलन गरेको थियो ।
अवैध रुपमा माछा मार्ने २७ जनालाई कारवाही गरिएको छ । नीति विपरीत काम गर्नेलाई दफा १४ बमोजिम कसुर हेरी १ हजारदेखि १ लाखसम्म जरिवाना गर्न सकिने प्रावधान छ ।
वर्षा ऋतु असला माछाले फूल पार्ने समय हो । प्राकृतिक नियम बुझेकाले वर्षातमा माछा खान हुँदैनसमेत भन्ने गरेको स्थानीय टंकबहादुर केसी बताउँछन् । अघिल्लो वर्ष नगरसभाले ‘जलचर संरक्षण नीति’नै बनाएर वर्षातमा माछा मार्न प्रतिबन्ध लगाएको थियो ।
माछाको आफ्नै मौसम हुने जलाहारी दिलबहादुर कुमाल बताउँछन् । जुनेली रातमा माछा पर्दैन । वर्षातका तीन, चार महिना माछाले फूल पार्ने र बच्चा कोरल्ने गर्छ । त्यो बेला माछा मार्दा भुरा बन्न नपाई असला लोप हुने खतरा छ । यो विधिलाई पछिल्लो समय मान्न छाडेकाले असला लगायतका खोलामा पाइने माछाहरु पाइन छाडेको उनको तर्क छ ।
कुमाल बडिगाड खोलामा माछा मार्छन् । दरमखोलाकै प्रभावले त्यसका सहायक खोलाहरू गौंदीखोला, ताराखोला र नरेठाँटीखोलामा समेत असला माछा प्रशस्त पाइन्छ । पछिल्लो समय विस्तारै असला घट्दै गएको छ ।
पहिला दैनिक १० केजीसम्म असला बेच्ने अनुभव सुनाउने गलकोटकी व्यवसायी कौशिला घर्ती अहिले चार केजी पनि बेच्न नसकेको बताउँछिन् । ‘कहिले त माछा नै हुँदैन, पाहुनालाई फर्काउनुपर्छ’, उनले भनिन्, ‘असला बढाउने प्रयास भएन भने माछा खाने सपना पूरा हुँदैन ।’
अनावश्यक रुपमा नदी दोहन बढेको छ । बजारीकरण बढ्दा पानीमा फालिएकोले पनि जलचर संकटमा परेका छन् । ताराखोला गाउँपालिकाको सिपदेखि गलकोटको रिघा फेदीसम्मको झण्डै ३५ किमी खण्डमा असला पाइन्छ ।





