बागलुङ, २६ फागुन– बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरमा रहेको गौरीधाम शिव मन्दिरमा रहेको खानेपानीको समस्या समाधानका लागि कपडा तथा फेन्सी व्यवसायी समितिले पहल थाल्ने भएको छ ।
शिवरात्रीको अवसरमा मंगलबार मन्दिर परिसर सरसफाई गर्दै समितिका अध्यक्ष रामचन्द्र शर्माले मन्दिरमा रहेको खानेपानी समस्या समाधानका लागि आँफुहरुले पहल थाल्ने प्रतिबद्धता व्यक्त गरे । सामाजिक उत्तरदायित्वअन्तर्गत समितिले मन्दिरमा खानेपानी व्यवस्थापनका लागि पहल गर्ने भएको हो ।
हरेक वर्ष शिवरात्रीको अवसरमा बिभिन्न सहयोगका कार्यक्रम सञ्चालन गर्नेगरेको समितिले यसवर्ष मन्दिर परिसर सरसफाई गरेको हो । मन्दिर व्यवस्थापन समितिका सदस्य, कपडा तथा फेन्सी व्यवसायी समितिका सदस्यहरु र स्थानीय समाजसेवीको सहभागितामा मन्दिर सरसफाई गरिएको हो ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जिसी, समितिका कानुनी सल्लाहकार गोविन्द ओझालगायतले बोलेका थिए । अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, समितिका द्वितिय उपाध्यक्ष गोविन्द सुवेदीको स्वागत र सचिव प्रेमलाल गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





